‘जिरो डिग्री’का निर्देशकले भने– हाम्रो चलचित्र सरेको छैन, तिहारमै आउँछ
काठमाडौं । ‘जिरो डिग्री’का निर्देशकले भने आफ्नो चलचित्रको प्रदर्शन मिति नसरेको प्रस्ट पारेका छन् । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा प्रदर्शनमा आउने निर्देशक आकाश बरालले दोहोर्याएका छन् ।
पछिल्लो समय चलचित्रको रिलिज मिति परिवर्तन हुन सक्ने चर्चा चलिरहँदा निर्माण टिमले भने चलचित्र पूर्वघोषित योजनाअनुसार नै तिहारमा रिलिज हुने स्पष्ट पारेको हो ।
“हामीले चलचित्रको छायांकन सम्पन्न भएपछि पहिलो चरणको सम्पादन हेरेर पूर्ण रूपमा विश्वस्त बनेपछि मात्र रिलिजको योजना सार्वजनिक गरेका हौँ । तिहार परिवारसँग बसेर चलचित्र हेर्ने उत्कृष्ट समय भएकाले हामी यही अवसरमा दर्शकमाझ आउँदैछौँ,” निर्देशक बरालले बताए ।
चलचित्रका कार्यकारी निर्माता मोती कार्कीले पनि ‘जिरो डिग्री’ निर्धारित योजना अनुसार नै २०८३ सालको तिहारमा प्रदर्शन हुने जानकारी दिँदै रिलिज मिति परिवर्तन हुने हल्लामा कुनै सत्यता नरहेको बताए ।
सामाजिक, पारिवारिक, भावनात्मक तथा हास्यप्रधान कथावस्तुमा आधारित चलचित्र ‘जिरो डिग्री’ले सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा बसेर मनोरञ्जन लिन सक्ने अनुभव दिने निर्माण टिमको विश्वास छ । अन्य स्वदेशी वा विदेशी चलचित्रसँग प्रतिस्पर्धाभन्दा पनि आफ्नै कथा, प्रस्तुति र पात्रमार्फत दर्शकको मन जित्ने लक्ष्य रहेको निर्माण पक्षको भनाइ छ।
‘बेहुली फ्रम मेघौली’पछि निर्देशकद्वय साजन काफ्ले र आकाश बरालको दोस्रो चलचित्रका रूपमा निर्माण भएको ‘जिरो डिग्री’मा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुभाष गजुरेल, रामबाबु रेग्मी, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल र सबिना थापा क्षेत्रीलगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका लेखक, निर्देशक तथा निर्माता साजन काफ्ले र आकाश बराल हुन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन् । चलचित्रमा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, अंकित बाबु अधिकारीको संगीत, युवराज काफ्लेका गीत, मानस्वी मलालको पाश्र्वसङ्गीत तथा शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ रहेको छ।

