‘जिरो डिग्री’को निर्माण पक्षले किन दिनुपर्‍यो स्पष्टोक्ति ?

काठमाडौं । पछिल्लो समय चलचित्र ‘जिरो डिग्री’ को प्रदर्शन मिति परिवर्तन हुन सक्ने चर्चा चलिरहेको थियो । अन्य चलचित्रहरूसँगको सम्भावित जुधाईलाई लिएर सिनेमाको रिलिज मिति हेरफेर गर्न लागेको भन्ने अड्कलका समाचार आएपछि निर्माण पक्षले ती सबै हल्लाको खण्डन गर्दै स्पष्टोक्ति दिएको छ ।

चलचित्रको निर्माण टिमले तिहारमा नै प्रदर्शन हुने कुरालाई पुनः पुष्टि गर्दै आफ्नो तयारी तीव्र पारेको जनाएको छ ।

सामान्यतया नेपाली चलचित्र उद्योगमा ठूला ब्यानरका चलचित्रहरू एकै मितिमा आउँदा भिडन्त टार्न रिलिज मिति सार्ने प्रवृत्ति देखिन्छ । ‘जिरो डिग्री’को हकमा पनि बजारमा यस्तै आशंकाहरू उब्जिएका थिए ।

तर, निर्देशक आकाश बरालले चलचित्रको रिलिज मिति कुनै ‘आवेग’ वा ‘प्रतिस्पर्धा’लाई हेरेर नभई एक व्यावसायिक योजना अन्तर्गत तय गरिएको स्पष्ट पारेका छन् ।

निर्देशक बराल भन्छन्, ‘हामीले हचुवाको भरमा मिति घोषणा गरेका होइनौँ । छायांकन सकिएपछिको पहिलो चरणको सम्पादन हेरेर हामी पूर्ण रूपमा ढुक्क भएपछि मात्र यो निर्णय लिएका हौँ । कथाको माग र दर्शकको मनोविज्ञानलाई अध्ययन गरेर नै तिहार रोजिएको हो ।’

त्यस्तै, कार्यकारी निर्माता मोती कार्कीले बजारमा फैलिएको भ्रममा कुनै सत्यता नरहेको बताउँदै प्रचार–प्रसार र वितरणको काम पूर्व निर्धारित योजना अनुसार नै अघि बढिरहेको जानकारी दिए ।

निर्माण पक्षले तिहारलाई ‘पारिवारिक मिलनको पर्व’ का रूपमा व्याख्या गर्दै ‘जिरो डिग्री’ पनि एक पूर्ण पारिवारिक चलचित्र भएकाले यो समय उत्कृष्ट हुने दाबी गरेको छ ।

चलचित्र ‘बेहुली फ्रम मेघौली’ पछि निर्देशकद्वय साजन काफ्ले र आकाश बरालको यो दोस्रो प्रोजेक्ट हो । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमाको मुख्य भूमिकामा विजय बराल र सनिशा भट्टराई छन् ।

यस्तै चलचित्रमा रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुभाष गजुरेल, रामबाबु रेग्मी, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल र सबिना थापा क्षेत्रीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको लेखन र निर्देशन साजन काफ्ले र आकाश बरालले गरेका हुन् । निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन र अंकित बाबु अधिकारीको संगीत रहेको यस चलचित्रको साउण्ड डिजाइन शैलेश श्रेष्ठले गरेका छन् ।

‘जिरो डिग्री’ को निर्माण पक्षले दिएको यो स्पष्टोक्तिसँगै अब चलचित्र २०८३ सालको तिहारमा आउने निश्चित भएको छ । प्रतिस्पर्धा भन्दा पनि आफ्नै मौलिक प्रस्तुति र कथावस्तुमार्फत दर्शकको मन जित्ने लक्ष्य राखेको यस चलचित्रले कस्तो प्रभाव पार्छ, त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ ।