‘भ्रष्टाचार रोकौँ’ भन्ने बोर्डमुनि बसेर घुस लिँदै वडा अध्यक्ष, यस्तो छ ‘जिरो डिग्री’को फर्स्ट लुक

काठमाडौं । चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक सार्वजनिक गरिएको छ ।

चलचित्र ‘बेहुली फ्रम मेघौली’ पछि सोही टोलीले निर्माण गरेको नयाँ डार्क कमेडी सिनेमाको निर्माण पक्षले फर्स्ट लुक सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरेको हो ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी तिहारको अवसर पारेर देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ ।

सार्वजनिक गरिएको फर्स्ट लुक भिडियोले चलचित्रप्रति दर्शकको कौतूहलतालाई बढाएको छ । विशेषगरी अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको भूमिकामा निकै फरक र रोचक अवतारमा देखाइएको छ ।

अभिनेता बरालको गेटअप र प्रस्तुति निकै रोचक र प्रतीकात्मक देखिएको भिडियोमा एउटा दृश्यले नेपाली राजनीतिको विद्रूप यथार्थलाई कसिलो व्यङ्ग्य गरेको छ । ‘भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको बोर्ड ठ्याक्कै आफ्नो पछाडि पारेर उनले सेवाग्राहीबाट निर्धक्क पैसा बुझिरहेको दृश्यले चलचित्रको ‘डार्क कमेडी’ पक्षलाई उजागर गर्छ । यसले हाम्रा नेताहरूको ‘भन्ने एउटा र गर्ने अर्को’ प्रवृत्तिलाई नराम्रोसँग गिज्याएको छ ।

‘पुन्य चौलागाईँ’को भूमिकालाई चलाख र चतुर जनप्रतिनिधिको रूपमा चित्रण गरिएको छ । बाक्लो जुँगा, ढाका टोपी, चस्मा र सुटमा ठाँटिएका विजयको एउटा दृश्यले नेपाली राजनीतिको विद्रूप यथार्थलाई प्रहार गरेको छ ।

भिडियोको पृष्ठभूमिमा गुन्जिने संवाद- ‘जहाँ समस्या, त्यहाँ पुन्य चौलागाईँ’ र ‘यो गाउँ बाहेक अरु को नै छ र मेरो आफ्नो’ ले उनी गाउँको एक चतुर र अवसरवादी जनप्रतिनिधि हुन् भन्ने सङ्केत गर्छ । उनको संवादमा प्रेम भन्दा बढी स्वार्थ र गाउँमाथि आफ्नो अधिपत्य जमाउने चतुरता झल्किन्छ ।

सार्वजनिक फर्स्ट लुकमा वडा अध्यक्ष सेतो घोडामा सानका साथ सवार छन्, तर उनको हातमा दुईवटा स्ट्यान्ड फ्यान छन् । यो दृश्यले परम्परागत शक्ति (घोडा) र आधुनिक सुविधा (पङ्खा) बीचको एउटा अनौठो र हास्यास्पद तालमेल देखाउँछ । बिजुली र विकास राम्रोसँग नपुगेको ठाउँमा पङ्खाको सान्दर्भिकता के होला? यसले दर्शकलाई सोच्न बाध्य बनाउँछ ।

नेपाली चलचित्रमा प्रायः ‘स्ल्यापस्टिक’ कमेडी (शारीरिक हाउभाउले हसाउने) धेरै हुन्छ । तर, ‘जिरो डिग्री’ले डार्क कमेडी रोजेको छ । यसको अर्थ, यसले गम्भीर र दुखद परिस्थितिमा पनि व्यङ्ग्य र हाँसो खोजेको बुझिन्छ ।

यो चलचित्रलाई यसअघि ‘बेहुली फ्रम मेघौली’ मार्फत चर्चामा आएको निर्देशक जोडी सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।

चलचित्रको पटकथा पनि उनीहरुकै रहेको छ । कास्कीको धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर जस्ता रमणीय स्थानहरूमा यसको छायांकन गरिएको छ ।

चलचित्रमा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, बसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइली लगायतका कलाकारहरूको सशक्त अभिनय रहनेछ ।

मोती कार्की कार्यकारी निर्माता रहेको यो चलचित्रलाई निशाल पौडेलले छायांकन गरेका हुन् । चलचित्रमा चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन र अङ्कित बाबु अधिकारीको सङ्गीत समावेश छ ।

चलचित्रको वितरण जिम्मा काठमाडौँ उपत्यकामा ‘डि सिएन’ र उपत्यका बाहिर ‘कुबेर सिने डिस्ट्रिब्युसन’ले लिएका छन् ।