डायस्पोराका दर्शकलाई नीता ढुङ्गानाको आग्रह

काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको निर्देशन तथा प्रमुख भूमिका रहेको चलचित्र ‘पार्वती’ प्रदर्शन हुनु अगावै वैदेशिक बजारमा पनि चर्चा कमाउन सफल भएको छ । आगामी भदौ १२ गते (रक्षाबन्धनको अवसर) पारेर प्रदर्शनमा आउन लागेको यस सिनेमाको अमेरिका प्रदर्शन अधिकार (ओभरसिज राइट्स) बिक्री भएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार अमेरिकाका लागि ‘माया डिजिटल’ले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको हो ।

यद्यपि, चलचित्र कति रकममा बिक्री भएको हो भन्ने विषयमा निर्माण टिमले आधिकारिक रूपमा रकम खुलाएको छैन । अमेरिकामा सिनेमाको अधिकार सुनिश्चित भएपछि अभिनेत्री तथा निर्देशक ढुङ्गानाले खुसी व्यक्त गर्दै डायस्पोराका दर्शकलाई ‘पार्वती’ हेर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेकी छन्, “माया, संघर्ष, स्वीकार्यता र आत्मीय सम्बन्धको यो भावनात्मक चलचित्र अब अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा सिनेमाप्रेमी दर्शकमाझ पनि पुग्दैछ।”

यतिबेला चलचित्रको एउटा रत्यौली गीत ‘नौतुना रेलैमा’ले निकै चर्चा बटुलिरहेको छ । सार्वजनिक भएको छोटो समयमै यो गीत टिकटक र युट्युबमा भाइरल बनेको छ, जसले सिनेमाप्रति दर्शकको कौतुहलता र उत्साह थप बढाएको छ । मौलिक लय र नृत्यका कारण यो गीतलाई दर्शकले निकै मन पराएका छन् ।

बुझिए अनुसार यस चलचित्रमा नीता ‘अटिजम’ भएको युवतीको भूमिकामा देखिनेछिन् । चलचित्रबारे उनी भन्छिन्,‘यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।’

यस चलचित्रमा नीताका साथै दीपाश्री निरौला, बाल गायक अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली (लट्टे) र आशा पौडेल लगायतको अभिनय रहेको छ ।

‘नीता फिल्म्स’को प्रस्तुतिमा बनेको चलचित्रको निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।

यस चलचित्रको कथा निर्देशक स्वयम् नीता ढुङ्गानाले गरेकी हुन् । चलचित्रको पटकथा लेखनमा शिवम अधिकारीको साथ रहेको छ भने सुदीप बरालको छायांकन छ ।

कार्टुन क्रुका डान्सर तथा निर्देशक सरोज अधिकारी क्रियटिभ निर्देशक रहेको यस चलचित्रका सम्पादक साहिल खान हुन् ।