‘अशोक दर्जीलाई माया र साथको खाँचो छ’ भन्दै चलचित्र ‘पार्वती’को टिजर रिलिज रोकियो
काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशन तथा निर्माणमा बनेको चलचित्र ‘पार्वती’को पूर्वनिर्धारित टिजर रिलिज कार्यक्रम स्थगित भएको छ ।
आगामी भदौ १२ गते रक्षाबन्धनको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको टिजर आज सार्वजनिक गर्ने तयारी थियो । चलचित्रका बाल कलाकार अशोक दर्जीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उत्पन्न परिस्थितिलाई कारण देखाउँदै निर्माण पक्षले टिजर रिलिज स्थगित गरेको छ ।
अशोक दर्जी कुटपिटमा परेको भिडियोले यतिबेला सञ्जाल तातिएको छ । ठिक यही समयमा ‘नीता फिल्मस’ले एक विज्ञप्ति जारी गर्दै ‘अशोकलाई अहिले माया र सद्भावको खाँचो रहेको’ भन्दै टिजर सार्वजनिक नगर्ने निर्णय लिएको बताएको छ ।
नीता फिल्मस प्रोडक्सन प्रा.लि.ले मंगलबार जारी गरिएको प्रेस विज्ञप्ति भनिएको छ,”हाल हाम्रा बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, यस संवेदनशील समयमा चलचित्रको प्रचार-प्रसारसम्बन्धी कुनै पनि सामग्री सार्वजनिक नगर्ने निर्णय गर्न हामी बाध्य भएका छौं ।”
निर्माण पक्षले यो कठिन समयमा अशोक दर्जीलाई सबैको माया, साथ र सद्भावको खाँचो रहेको उल्लेख गरेको छ । गायक दर्जी चाँडै नै यो समस्याबाट बाहिर निस्केर नयाँ ऊर्जाका साथ काममा फर्किने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ । टिजर सार्वजनिक गर्ने नयाँ मिति भने छिट्टै घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।
अभिनेत्री नीता ढुङ्गानाले नै यस चलचित्रको कथा लेखेकी हुन् । चलचित्रमा नीताका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली (लट्टे) र आशा पौडेल लगायतको अभिनय छ ।
चलचित्रको निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । शिवम अधिकारीले पटकथा लेखेको यस चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।
त्यस्तै, कार्टुन क्रुका चर्चित डान्सर तथा निर्देशक सरोज अधिकारी क्रियटिभ निर्देशकको भूमिकामा छन् भने साहिल खानले चलचित्रको सम्पादन गरिरहेका छन् ।


