‘घरज्वाइँ’ को पहिलो साताको कलेक्सन कति ?

काठमाडौं । दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । यो फिल्म असार २८ गतेदेखि प्रदर्शनमा आएको थियो । फिल्मले सुरूवाती दुई दिन (शुक्रबार र शनिबार) मा डेढ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको विवरण निर्माण पक्षले सार्वजनिक गरेको थियो ।

यसका वितरक रोहित कट्टेलले पहिलो साता फिल्मले ३ करोड रूपैयाँ हाराहारी कलेक्सन गरेको बताए । दोस्रो साताको शुक्रबार र शनिबार पनि फिल्मको कमाइ सुखद् रहेको बताए । यद्यपि हिजो र आजको कलेक्सन कति भयो रातीसम्ममा मात्र आइपुग्ने जानकारी दिए । शनिबार कलाकारहरु दर्शक भेट्न हलमा पुगेका थिए ।

अनिल बुढा मगरको लेखन एवं निर्देशन रहेको यो फिल्मका निर्माता जनक घर्ती मगर हुन् । फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले लगायतको अभिनय छ ।