‘जेरी अन टप’बाट केही सिक

चलचित्र ‘जेरी अन टप’का निर्माता सरोज न्यौपानेले आफूलाई धेरैले हतोत्साही गरेको चलचित्र बनाएको बताएका छन् । सगरमाथाको सिन धेरै भएको, सगरमाथामा खिच्नु पर्ने अथवा भिएफएक्सको काम धेरै गर्नुपर्ने भएपछि धेरैले सरोजलाई यो सिनेमा बनाउनै नसक्ने भन्दै नबनाउन सुझाव दिएका थिए ।

सुझाव नमानेपछि कतिले हाकाहाकी त कतिले पछाडि ‘जेरी अन टप’ बनाएर देखाउन चुनौती दिएका थिए । यो सरोज आफैँले बेलाबखत बताउँदै आएका छन् ।

चुनौती मोलेरै सरोजले सिनेमा बनाए । बनाएनन् मात्रै, चलाएर पनि देखाए । भलै सिनेमा बनाउँदैमा चल्दैन । सिनेमा लकले पनि चल्ने हो । यसो भन्दैमा लकले मात्रै पनि चलचित्र चल्दैन । त्यसमा चल्ने तत्व अथवा दर्शकले मन पराउने पक्ष त चाहिन्छ नै । भाग्य छ भन्दैमा डोकोमा दूध दुहिएर अडिँदैन ढुंग्रो नै चाहिन्छ ।

सरोजलाई तैँले यो सिनेमा बनाउन सक्दैनस् भन्नुको कारण थियो सगरमाथामा छायांकन सम्भव छैन । यति धेरै भिएफएक्स पनि नेपालमा सम्भव छैन । अथवा बजेटका हिसाबले यति धेरै भिएफएक्स कुनै पनि हाततमा सम्भव छैन । अनि कसरी बन्छ सिनेमा भन्ने थियो ।

तर, सरोजले भिएफएक्स गरेरै सिनेमा बनाए । उनको दाबी अनुसार ‘जेरी अन टप’मा आधा घण्टाभन्दा धेरै भिएफएक्स छ । यसका लागि उनले ठूलो रकम खर्चिए ।

नेपालमा चलचित्र निर्माता र निर्देशकहरू धेरै भिएफएक्स गर्न सकिँदैन भनेर सुरुमै खुट्टा तान्छन् । तर, पनि सामान्य चलचित्रको पनि बजेट तीनदेखि चार करोड भन्न थालिसकेका छन् । बजेट मिनिमाइज गर्ने ठाउँमा घटाएर चलचित्रलाई उकास्ने ठाउँमा बढाउनेतिर भने खासै ध्यान गएको देखिँदैन ।

कहाँ बजेट घटाउँदा चलचित्र बिग्रिँदैन । तर, कहाँ बजेट बढाउँदा चलचित्र साँच्चै राम्रो हुन्छ भन्नेमा गम्भीर भएको देखिँदैन । यसतर्फ भने निर्माता र निर्देशकले तत्काल ध्यान दिनुपर्ने भएको छ ।

‘जेरी अन टप’ले बजेट घटाउन सकिने विकल्पमा त्यो प्रयास गर्‍यो वा गरेन त्यो बेग्लै पाटो हो । तर, गर्नै सकिँदैन, सम्भव नै छैन भनेर अरुले आँट नगरेको ‘जेरी अन टप’ले आँटेर सम्भव गरेर प्रमाणित गरिदियो ।

‘जेरी अन टप’ मास्टर पिस चलचित्र होइन । तर, यतिको काम हामी गर्न सक्छौँ भन्ने बाटो देखाउने काम यो टिमले गरेको छ । यसका लागि निर्माता सरोज पौडेल अरु नेपाली निर्देशक र निर्माताका लागि अनुकरणीय पात्र हुन् ।