राजनीतिमा कला क्षेत्रको नाक राख, छुद्रता नदेखाऊ

धेरैले भन्छन्, राजनीति फोहोरी खेल हो । हो, राजनीतिमा फोहोरी खेल भयो होला, यसलाई मान्न सकिन्छ । तर, राजनीति आफैँमा फोहोरी खेल होइन । कसैले हो, राजनीति भनेको फोहोरी खेल नै हो भनेर भन्छ भने त्यो गलत हो । नबुझ्नेहरूले गर्ने गलत टिप्पणी हो ।

राजनीति समाजका सबै नीतिहरूको राजा नीति हो । अथवा सबै नीतिहरूलाई गभर्न (शासन) गर्ने नीति हो । राजनीति समाज सेवा हो न कि पैसा कमाउने उद्योग ? कसैले यसलाई बिना पैसाको लगानीमा कमाइ गर्ने उद्योग बनाएको देखिन्छ, यो गलत हो । राजनीतिक पैसा काउने उद्योग होइन, यो त समाज सेवा गर्ने माध्यम हो ।

हो, यही भएन भनेर नेपालमा बेलाबेलामा आन्दोलन र क्रान्ति हुने गरेको छ । भइरहेको राजनीतिक दलमा धेरै भ्रष्ट र तस्कर भए र गैरकानुनी कार्य गर्नेलाई संरक्षण गरे भनेर नयाँ राजनीतिक दल खुल्ने गरेका छन् ।

विद्यार्थी कालदेखि नै राजनीति नगरेका तर विभिन्न पेसा तथा व्यवसायमा सफल व्यक्तिहरू करियरको बीचमा वा उत्तरार्धमा राजनीतिमा प्रवेश गर्ने गरेका छन् । यसैगरी राजनीतिमा बेलाबखत कलाकारिताको क्षेत्रबाट पनि कलाकारहरू प्रवेश गर्ने गरेका छन् ।

यसको पछिल्लो उदाहरणका रुपमा रिमा विश्वकर्मा र निशा अधिकारीलाई लिन सकिन्छ । यसअघि रेखा थापा, करिष्मा मानन्धर, कोमल वलीलगायतलाई लिन सकिन्छ ।

रेखा र करिष्मा राजनीतिक यात्रामा कति सफल भए त्यो धेरैलाई थाहै छ । सरोज खनाल, अशोक शर्मालगायत कलाकार डा. बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्तिका प्रवेश गरेका थिए । उनीहरू पनि ब्याक भए । अहिले राजनीतिक सिनमा नै छैनन् ।

अहिले उज्यालो नेपाल पार्टीमा रिमा विश्वकर्मा जोडिएकी छन् । पार्टीको घोषणा सभामा उनले दिएको भाषण अहिले चर्चामा छ । उक्त सभामा पनि उनले दलहरूलाई मजाले गाली गरिन् । उनको भाषणले उनी कुनै पुरानै राजनीतिक दलकै कार्यकर्ता भएको प्रतित गरायो ।

अरूको आलोचना गर्नु नै राजनीतिमा सफल हुनु होइन । यदि, कसैमा यो बुझाइ छ भने यो गलत हो । अरु संस्कारहिन भए, आफू काम गरेर देखाउनेभन्दा पनि अरुलाई गाली गरेर बस्ने भए भनेर आलोचना गर्ने तर आफैँ त्यहीबाटोमा लाग्नु उचित होइन ।

पूराना दललाई भोट दिने व्यक्ति विवेकहिन हुन् भन्नु पनि विवेकपूर्ण होइन । दल आफैँमा खराब छैनन् र हुँदैनन् पनि । त्यसभित्र गोलबद्ध भएका केही व्यक्ति खराब हुन सक्छन् । तर, हरेक दलमा रहेका सबै व्यक्ति खराब पनि हुँदैनन् । त्यसैले समग्र दल र राजनीति गर्नेलाई नै आक्षेप लगाउनु पनि विवेकशिल प्राणीको विवेकपूर्ण कार्य होइन ।

भोलि उज्यालो नेपाल पार्टीभित्र पनि कोही खराब र भ्रष्ट व्यक्ति देखिएला, त्यतिबेला रिमा विश्वकर्मा पनि भ्रष्ट हुन् भनेर एउटै बास्केटमा राखेर आरोप वा आक्षेप लगाउन मिल्छ ? भोलि उज्यालो नेपालको कसैले राजनीतिक लाभ उठाएर बदनाम होला, त्यो समय यो पार्टी नै भ्रष्ट हो, यसलाई कसैले भोट नदेऊ, दियौ भने तिमीहरू विवेक शून्य प्राणी हौ, जनावर र तिमीहरूमा केही फरक छैन भनेर भन्न मिल्छ ?

पक्कै पनि मिल्दैन । त्यसैले कलाकारिता क्षेत्रबाट राजनीतिमा हामफालेकाहरूले कम्तीमा कला क्षेत्रको इज्जत जोगाउन्, कलाकारिता क्षेत्रको नाक राखुन् । यदि, अरुजस्तै उस्तै छुद्र हुने हो भने अरु र आफूमा के नै भिन्नता रहला र ?