निर्णय र घोषणामै सीमित नहोस्, कार्यान्वयन होस्

चलचित्र विकास बोर्डले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा आकर्षक फिल्मी गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डसँग सम्झौता गरेको छ । बुधबार पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सहकार्यले चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन रणनीतिक समन्वयको ढोका खोल्ने डिसी र जोशीको विश्वास छ । पछिल्लो समय विश्वभर फिल्मी पर्यटन लोकप्रिय बन्दै गएको छ । यसलाई नेपालमा पनि संस्थागत गर्ने दुई बोर्डको उद्देश्य छ ।

नेपाललाई अन्तर्राष्ट्रिय फिल्मी गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने, चलचित्रमार्फत देखिएका लोकेशनलाई पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्न दुवैपक्ष तप्पर रहेका छन् ।

सम्झौताअनुसार सन् २०२६ मा हुने कान्स चलचित्र महोत्सवमा सहभागिता, पोखरामा फिल्म फेस्टिभल आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ ।

फिल्म पर्यटनमार्फत कम परिचित प्राकृतिक र सांस्कृतिक सम्पदायुक्त स्थानहरूलाई पनि अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउने विश्वास गरिएको छ । चलचित्रमा देखिएका लोकेसन अवलोकन गर्न आउने पर्यटकमार्फत स्थानीय होटल, यातायात, गाइड तथा साना व्यवसायहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

इन्टरनेटमा सहज पहुँच र प्रविधिको विकासले वर्ल्ड सिनेमा व्यक्तिको हातहातमा छ । सिनेमामा देखिने लोकेसनले दर्शकलाई लोभ्यायो भने ऊ त्यो लोकेसन पत्ता लगाएर घुम्न जान्छ । त्यसैले पछिल्लो दशक ठूला चलचित्र उद्योग भएका देशले आफ्नो पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा प्रभावकारी टुल्स नै चलचित्रलाई बनाउँदै आएका छन् ।

चलचित्र प्रभावकारी भएपछि चलचित्रलाई अनुदानसमेत दिने गरेका छन् । नेपाल आफैँमा प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथालेखि बुद्धको भूमिसम्म, तालतलैयादेखि चार कोसे झाडीसम्म, तराई र पहाडदेखि मुस्ताङ र खप्तडको पठारसम्म छन् । छोटो दुरीमा फरकफरक लोकेसन छन् । त्यसैले नेपाल चलचित्रको अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्छ । राम्रो प्रचार गर्न सक्ने हो भने नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।

तर, यसका लागि बलिउड, हलिउड, चिनियाँ, कोरियनजस्ता ठूलो उद्योगका ठूला कलाकार र ठूला ब्यानरका चलचित्र नेपालमा छायांकन हुनुपर्छ । ताकि विश्वभरका दर्शकले ती चलचित्र हेरुन् । र, नेपाल आउन् ।

यसका लागि सरकारले नेपालमा सहज वातावरणमा विदेशी चलचित्र छायांकन गर्ने वातावरण बनाउनुपर्छ । चलचित्र विकास बोर्ड र पयर्टन बोर्डले गर्न खोजेको पनि यही नै हो ।

तर, कतिपय निर्णय र घोषणाहरू कागजमै अलपत्र पर्छन् । तर, यो पटक यस्तो नहोस् । चलचित्र ‘क्याराभान’ रिलिज भएपछि त्यसको अर्को वर्ष सोही चलचित्रका कारण नेपालमा विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको पर्यटन बोर्डसँग तथ्यांक छ । त्यसैले, यसलाई नजिर मानेर यसमा सरकार गम्भीरतापूर्वक लागोस् । जसले चलचित्र उद्योगसँगै पर्यट पनि सँगसँगै प्रवर्द्धन हुनेछ । चलचित्र नेपाली अर्थतन्त्रको एक मेरुदण्ड बन्नेछ ।