‘गैराघरे काँइली’मा सौगात र तेरिया छमछमी नाच्दै, दयाहाङ ब्लड प्रेसर नाप्दै

काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र ‘मितज्यू’ को पहिलो गीत सार्वजनिक भएको छ ।

आगामी जेठ ८ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको निर्माण टिमले आइतबार सिनेमामा समावेश लोकलयको ‘गैराघरे काँइली’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा रोल्पाको सदरमुकाम लिवाङ छिर्ने गेट र त्यहाँको बजार स्पष्ट देखिन्छ । निर्माण पक्षले लिवाङमा लागेको जलजला महोत्सवलाई दुरुस्तै उतार्न सफल भएको छ । कुनै सेट नभई वास्तविक स्थानमा छायांकन गरिएको छ, सम्भवतः यो भिडियो महोत्सव हुँदै गर्दाकै बीचमा खिचिएको हुन सक्छ ।

मिङ्मा डि लेप्चाले कोरियोग्राफी गरेको भिडियोमा सिनेमाका मुख्य पात्रहरू दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर उक्त महोत्सवको रमाइलोमा झुमिरहेका देखिन्छन् ।

सौगात मौलिक मगर पोशाक (भाङ्ग्रा र कछाड) मा सजिएका छन् भने तेरिया फौजा मगर परम्परागत गरगहना र पोतेसहितको लेहङ्गा-चोलीमा देखिएकी छिन् । दयाहाङ चेक सर्ट र साधारण पाइन्टमा देखिएका छन् ।

सौगात यस गीतमा निकै उर्जावान् देखिएका छन् । मौलिक मगर पोशाक (भाङ्ग्रा र कछाड) मा सजिएका उनको नृत्य शैली निकै ‘फ्लेक्जिबल’ र लोभलाग्दो छ । उनको चञ्चले स्वभाव र मुस्कानले भिडियोमा रौनकता थपेको छ ।

नृत्यमा पोख्त तेरिया फौजा मगरको यो डेब्यु चलचित्र हो । भिडियो हेर्दा उनले आफ्नो नृत्य कौशललाई चलचित्रमा पनि उस्तै उर्जाका साथ प्रस्तुत गरेकी छिन् ।

भिडियोमा उनीहरूको त्रिकोणात्मक प्रेम र ठट्टालाई पनि रोचक ढंगले देखाइएको छ ।

भिडियोमा कलाकार शिशिर वाङ्देल र खड्गबहादुर पुन मगर (खबपु)लाई पनि फिचर गरिएको छ, जसले चलचित्रको कथाको केही अंशलाई प्रस्ट्याउँछ ।

श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरमा रहेको यो गीत विशुद्ध लोकलयमा आधारित छ । गायक मल्लकै शब्द र संगीत रहेको यस गीतलाई श्याम श्वेत रसाइलीले एरेन्ज गरेका हुन् । गीतले गाउँले परिवेश, माया-पिरती र ठट्टाको कथा बोकेको छ ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

ग्रामीण र पहाडी जीवनको सामाजिक कथा भनिएको चलचित्रमा दयाहाङ, सौगात र तेरियाका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको छ ।

शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

चलचित्रका निर्माता जनक घर्ती मगरले सिनेमाको कथाको माग अनुसार नै गीत निर्माण गरिएको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।