कलाकारको हातमा डाडु पन्यौ, यो सुनौलो अवसर खेर नफाल

देशले पहिलोपटक सांगीतिक क्षेत्रबाट प्रधानमन्त्री पाएको छ । सांगीतिक क्षेत्रबाट आएको व्यक्ति बालेन शाह प्रधानमन्त्री बनेका छन् । बालेन सांगीतिक क्षेत्रमा सामान्य रुचि भएका व्यक्ति मात्रै होइनन् । उनी संगीतलाई नै करिअर बनाएर हिँडेका व्यक्ति हुन् ।

तर, जब उनको पाइला राजनीतितर्फ मोडियो, बालेन छोटो समयमै देशको कार्यकारी पदमा पुगे । करिब तीन वर्ष काठमाण्डौं महानगरपालिकाको मेयर बनेका बालेनले संघीय संसद्का लागि भिडेको पहिलो प्रयासमै सांसद् भए । र, सांसद हुन बित्तिकै कार्यकारी प्रधानमन्त्री बन्न सफल भए । यो लोभलाग्दो सफलता कमै व्यक्तिले मात्रै पाएका छन् । र, यो संयोग सांगीतिक क्षेत्रबाट गएको व्यक्तिले पाएको छ ।

बालेन सांगीतिक क्षेत्रबाट राजनीतिमा एकपछि अर्को सफलता प्राप्त गरिरहेका छन् । उनको यो सफलतामा कलाकारको ठूलो भूमिकामा छ । कति खुलेर लागेका छन् भने कति पर्दा पछाडि रहेर उनको सफल राजनीतिमा मेरुदण्ड बनेर काम गरिरहेका छन् ।

बालेन संगीतबाट भए पनि उनले सहयोग भने चलचित्र क्षेत्रबाट धेरै पाएका छन् । अर्जुन घिमिरे पाँडे हुन् वा निश्चल बस्नेत अथवा असिम, आसिफ शाह हुन् वा अन्य कलाकार । धेरै चलचित्र क्षेत्रबाटै छन् ।

चलचित्र र सांगीतिक क्षेत्रले सधैँ गर्दै आएको गुनासो के हो भने, राज्यले हामीलाई बेवास्था गर्यो । राजनीतिज्ञले हाम्रो कुरै सुन्दैनन् । हाम्रो मुद्दा नै बुझ्दैनन् । हाम्रा माग सम्बोधन नै गर्दैनन् ।

अब डाडु पन्यौ नै आफ्नै हातमा आइपुगेको छ । कलाकार नै सर्वोच्च कार्यकारी पदमा पुगेको समय छ । चलचित्र र संगीत क्षेत्रका माग के हुन्, जुन राज्यले कहिल्यै सुनेन । अब ती माग फटाफट सम्बोधन गर्न कसैले छेक्न सक्ने छैन । मात्रै, माग के हुन्, ठोष रुपमा अगाडि सार्नु पर्यो । ती पूरा नहुने कुनै गुन्जायस छैन ।

संविधानसँग नबाझिने बाहेक सबै माग पूरा गर्न अब कसैले छेक्ने छैन । अब कर्मचारीतन्त्रले पनि चाहेर नेपाली चलचित्र र संगीतकर्मीका मागमा यो वा त्यो बाहान देखाएर उम्किन सक्ने छैन ।

कुरा रह्यो बालेन स्यंमको, उनलाई सुरुका दिनदेखि नै आजसम्म उनको राजनीतिक यात्रामा खम्बा बनेर उभिएका कलाकारले यी काम गर्नुप¥यो भनेपछि उनले कसरी नाइँ भन्न सक्लान् र ?

तर, कुनै पनि काम आफैँ हुँदैन । त्यसलाई कानुन र ऐनमा लिपिबद्ध गर्ने आफ्नै विशिष्ट प्रक्रिया हुन्छ । त्यसैले कुन काम कसरी गर्ने, त्यो प्रक्रियाबाट सकेसम्म चाँडो कानुनी रुपमा आफ्ना माग लिपिबद्ध गर्न कलाकारले आजैबाट सक्रिय हुनुपर्नेछ, यो अवसर पनि कला क्षेत्रले गुमायो भने, अब यस्तो अवसर फेरि सायदै आउला ।