‘मितज्यू’को ‘गैराघरे काँइली’लाई दर्शकको साथ
काठमाडौं । जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ । यस गीतलाई युटुवमा रिलिज गरेको छोटो समयमा नै ११ लाख भ्युज कमाउन सफल भएको छ । यो फिल्मको प्रचारप्रसारको लागि रिलिज भएको पहिलो गीत हो ।
गीतले छोटो समयमा नै ११ लाख भ्युज बटुलेपछि निर्माण पक्ष उत्साहित बनेको छ । निर्माता मगरले आफ्नो फिल्मको गीत यतिधेरै पटक हेरेर साथ दिएकोमा सबैलाई धन्यवाद दिएका छन् ।
उनी भन्छन्, “हाम्रो चलचित्र मितज्यूको गीत ‘गैराघरे काँईली’लाई युट्यूबमा ६ दिनमा १० लाख भन्दा बढि पटक हेरिदिनुहुने यहाँहरु सम्पुर्णलाई धेरै धेरै धन्यवाद ।”
अनिल बुढा मगरको निर्देशन, जनक घर्ती मगरको लगानी रहेको यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगरलगायतको अभिनय रहनेछ ।
यही चलचित्रबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको,सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन् ।
फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन् । प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर,प्रतीक्षा भाट क्षेत्री हुन् ।
फिल्मको द्वन्द्व निर्देशन प्रभात विष्ट, साउन्ड डिजाइनर नवीन श्रेष्ठको छ । चलचित्र आगामी जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शनमा आउँदैछ ।


