चलचित्रका पेशागत संघसंगठनको औचित्य स्थापित गर
काठमाडौं । नेपालमा चलचित्रको विकास, विस्तार र उत्थानका लागि थुपै पेशागत संघसंस्था छन् । यी पेशागत संघसंगठनको विधान र कार्यविधि हेर्ने हो भने सबैको उद्देश्य चलचित्रको विकास, विस्तार, उत्थान र चलचित्रकर्मीहरूको हकअधिकार सुरक्षित गर्नु छ ।
तर, प्रश्न छ के भने यी पेशागत संगसंगठनले चलचित्रकर्मीहरूको हकअधिकारका लागि विधानअनुसार काम गरेका छन् ? पेशागत अधिकार, आफू रहेकै पेशामा बसेर आर्थिक भविष्यको सुनिश्चितता गर्ने, पेशागत दक्षता बढाउने, काम गर्ने सहज वातावरण बनाउनेलगायत काम पेशागत संघसंगठनको उद्देश्य हो ।
तर, धेरैजसो यस्ता पेशागत संस्था नाम मात्रैका रहेका सच्चाइ यथार्थ हो । हरेक वर्ष संस्था नवीकरण गर्नेबाहेक धेरै काम देखिँदैन भन्दा पनि हुन्छ । यसबाहेक यी संस्थाले गर्ने काम भनेको नयाँ कार्यसमिति चयनका लागि हुने साधारणसभा हो ।
नयाँ कार्यसमिति चयनका लागि तीन महिना अगाडिदेखि हुने समूहगत भेलाबाहेक अरु काम हुँदैन । कार्यसमिति चयन भएपछि चलचित्र सम्बन्धी कार्यक्रममा अतिथिको रूपमा ड्यासमा बस्नेबाहेक धेरै काम यी संस्थाका कार्यसमितिबाट भएको पाइँदैन ।
यी पेशागत संगसंगठनको औचित्य नरहेको भन्दै बन्द गर्दा पनि केही फरक नपर्ने स्वयं चलचित्रकर्मीहरूले नै बताउँदै आएका छन् । चलचित्रकर्मीहरूले नै यस्तो बताउनुले यी पेशागत संस्थाप्रति चलचित्रकर्मी कति दिक्क भइसकेका छन् भन्ने पुष्टि हुन्छ ।
यसको अर्थ अब चलचित्र क्षेत्रका पेशागत संघसंगठनले आफ्नौ औचित्य पुष्टि हुनेगरी काम गर्नुको विकल्प छैन । यदि, काम गर्न नसके बन्द नै गरिदिए पनि हुन्छ । जुन उद्देश्यका लागि संस्था खोलिएका हुन्, त्यही नै काम हुँदैन भने त्यसको के काम ?


