फ्राइडे रिलिज : ‘राम नाम सत्य’ आजबाट प्रदर्शन

काठमाडौं । चलचित्र ‘राम नाम सत्य’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो सिनेमा आजबाट प्रदर्शनमा आएको हो ।

नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आएको यो चलचित्रले ठूलो संख्यामा शोज पाएको छ । सोलो रिलिजको मौका पाएको चलचित्रले देशभरका हलमा ठूलो संख्यामा शोज पाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समाले ५९ शोज पाएको छ । क्यूएफएक्सले काठमाडौं उपत्यकामा २७ र काठमाडौं बाहिर ३२ शोज उपलब्ध गराएको छ ।

आईएनआईले देशभरका आफ्ना ६ वटा हलमा २३ शो दिएको छ । वान सिनेमाजले १० शोज दिएको छ ।

लामो समयदेखि एक्सन चलचित्र नलचेकाले पनि दर्शकको नजरमा यो सिनेमा पर्छ कि भन्ने निर्माण टिमको अपेक्षा छ । ‘१२ गाउँ’ यता नेपाली एक्सन सिनेमा चलेका छैनन् । ‘१२ गाउँ’मा पनि विराज नै थिए । ‘राम नाम सत्य’मा पनि विराज नै छन् । त्यसैले यो सिनेमाले दर्शकलाई तान्छ भन्नेमा निर्देशक माइकल चन्दको विश्वास छ ।

एक्सनसँगै प्रेम र सस्पेन्स पनि सिनेमामा रहेकाले धेरैको नजरमा यो सिनेमा पर्नेमा उनी ढुक्क छन् । वर्षको अन्तिममा आएर नेपाली सिनेमाको बजारलाई लयमा फर्काउने र अरु सिनेमाले पनि बाटो लिनु पर्ने निर्देशक चन्द बताउँछन् ।

माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिराजसँगै सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, सुधीर श्रेष्ठ, दिव्या रायमाझी, खुसी कार्की र स्वर्गीय कलाकार सुनिल थापाको मुख्य अभिनय रहेको छ ।

चलचित्रका निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन् । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने फिल्ममा क्रिएटिभ निर्माता मोती कार्की रहेका छन् ।

माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, काला चरणको पाश्र्वध्वनि छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।

यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।