‘मितज्यू’को टिजरमा मित्रता र द्वन्द्वको फ्युजन
काठमाडौं । चलचित्र ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार रिलिज गरेको टिजरमा ग्रामिण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दुई पात्रबीच मित्रता र दुश्मनीको झल्को देख्न सकिन्छ ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो चलचित्रको टिजरले पुराना पुस्तामा रहेको यो मितेरी साइनो नयाँ पुस्तामा कथा भन्ने चेस्टा गरेको छ ।
आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको टिजरमा हिमाली र पहाडी भेगको सुन्दर दृश्यहरू, मौलिक भेषभूषा र सांस्कृतिक नाचगानलाई निकै आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ ।
टिजरको सुरुवात ‘जेलबाङ’ गाउँको स्वागतद्वार र एउटा पवित्र धार्मिक विधिबाट हुन्छ, जहाँ दुई मुख्य पात्रहरूले सुँगुरको टाउकोमा हात राखेर कहिल्यै झगडा नगर्ने कसम खान्छन् । कसम खाएको केही क्षणमै टिजरमा ‘एक्सन’ सुरु हुन्छ ।
‘मेरो कुम छुने अधिकार तँलाई कसले दियो ?’ भन्ने संवादसँगै सुरु भएको विवादले मित्रताभित्र लुकेको कलह र प्रतिशोधलाई संकेत गर्दछ । बजारको बीचमा हुने कुटाकुट, पहाडी बाटोमा जिपको रोमाञ्चक यात्रा र पात्रहरूबीचको तिक्तताले चलचित्रमा सामाजिक र व्यक्तिगत द्वन्द्वको पाटो सशक्त रहेको देखाउँछ ।
टिजरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई, सौगात मल्ल, तेरिया पौजा मगरलाई देख्न सकिन्छ । तेरिया यसै चलचित्रबाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।
टिजरको एक दृश्यमा एक गुरु (पण्डित/ज्योतिष) ले पात्रहरूलाई ‘घर स्त्री वा पर स्त्रीसँग लसपस नगर्नु’ भन्दै चेतावनी दिएका छन् । यसले चलचित्रमा प्रेम, विश्वास र धोकाको कथा पनि जोडिएको संकेत गर्दछ । टिजरको अन्त्यतिर देखाइएको भाले जुधाइ जस्तै दुई पात्रबीचको भीषण लडाइँले दर्शकलाई चलचित्रप्रति थप आकर्षित गर्दछ ।
टिजरमा प्रयोग गरिएको पाश्र्व संगीत र छायांकन स्तरीय देखिएको छ । चलचित्रमा ग्रामीण जनजीवनको यथार्थपरक चित्रणका साथै मित्रताको गहिराइलाई खोतल्ने प्रयास गरिएको छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
यस चलचित्रमा दयाहाङ, सौगात, तेरियाका अलवा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ ।
लोकेश बज्राचार्यको सम्पादन रहेको यो चलचित्रलाई शिशिर बिशंखेले खिचेका हुन् ।

