‘राम नाम सत्य’को कमाइ १ करोडमाथि, नयाँ वर्षमा व्यापार बढाउने अवसर

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ ले सुरुवाती तीन दिनमा करोडको आँकडा पार गर्दै व्यावसायिक सफलताको संकेत देखाएको छ ।

माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रले प्रदर्शनको पहिलो दिन देशभर करिब ३० प्रतिशतको औसत अकुपेन्सी हासिल गरेको थियो । दोस्रो दिन शनिबार र आइतबार चलचित्रको व्यापारमा उल्लेख्य सुधार देखिएको छ ।

आर्टखबरलाई प्राप्त जानकारी अनुसार ‘राम नाम सत्य’ले १ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्न सफल भएको छ । आइतबार साँझसम्मको ग्रस कमाइ जोड्दा १ करोड २० लाख पुग्न सक्ने भनाइ छ । यो गत माघमा प्रदर्शन भएको ‘आ बाट आमा’ पछिकै उच्च ओपनिङ अकुपेन्सी र व्यापार हो ।

शुक्रबार र शनिबारको तुलनामा आइतबार चलचित्रको शो संख्या भने केही खुम्चिएको छ ।

दर्शकको सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ)का कारणले आगामी दिनमा व्यापार बढाउँदै जाने निर्माण टिमको विश्वास छ । चलचित्रले सुखद् सुरुवात गरेसँगै निर्माण पक्ष अब आउँदो नयाँ वर्षको बिदालाई लिएर आशावादी देखिएको छ । नयाँ वर्षको दिनमा हलहरूमा दर्शकको ठूलो ‘उछाल’ आउने र यसले चलचित्रको कुल व्यापारलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा टिमको छ ।

दर्शकले चलचित्रको एक्सनलाई बलिउडसँग तुलना गरेका छन् । निर्माण टिम र कलाकारहरू दर्शकको प्रतिक्रिया बुझ्न प्रदर्शनको दिनदेखि नै काठमाडौँका विभिन्न हलहरूमा पुगिरहेका छन् । शनिबार बालाजुस्थित अष्टनारायण हल पुग्दा मुख्य अभिनेता विराज भट्टलाई दर्शकले भव्य स्वागत गरे ।

करिब १ हजार दर्शकको उपस्थिति रहेको उक्त हलमा विराजलाई देख्दा दर्शकहरूले ‘विराज भट्ट शान हो, विराज भट्ट बाघ हो’ भन्दै नारा लगाएका थिए ।

दर्शकको यो माया देखेर विराज निकै उत्साहित देखिएका छन् । उनले भने, ‘सुरुवाती दुई दिनको व्यापारलाई लिएर म केही चिन्तित थिएँ, तर दर्शकको उत्साह र मायाले मलाई थप उर्जा दिएको छ । उहाँहरूले फिल्मलाई मन पराइदिनुभएको छ ।’

माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा विराज भट्टका साथै सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझीको मुख्य भूमिका रहेको छ । साथै सुनील थापा र प्रशान्त ताम्राकार जस्ता सशक्त कलाकारहरूको पनि अभिनय रहेको छ ।

उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको यस चलचित्रका कार्यकारी निर्माताहरू किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने श्री श्रेष्ठको एक्सन र बन्दे प्रसादको सम्पादन रहेको छ ।

एक्सन र ड्रामाको सन्तुलन रहेको ‘राम नाम सत्य’ले आगामी दिनमा बक्स अफिसमा कस्तो रेकर्ड राख्ने हो, त्यो भने हेर्न बाँकी छ ।