समीरले आफूलाई थप निखार्न मुम्बई जानुको अर्थ उनी अभिनयमा अब्बल छैनन् भन्ने हो ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा समीर भट्टको दमदार इन्ट्री भयो । ‘१२ गाउँ’ मार्फत उनले आफूलाई डेब्यू सिनेमाबाटै स्थापित गरे ।
‘१२ गाउँ’मा उनको तारिफ भयो । त्यसपछि उनी देखिए, ‘बलिदान’मा । सन्तोष सेनले निर्देशन गरेको ‘बलिदान’मार्फत उनले आफूलाई थप नयाँ उचाइ दिन्छन् भन्ने धेरैले अपेक्षा गरेका थिए । तर, परिस्थिति ठिक विपरीत बनिदियो ।
‘बलिदान’ पाँच करोडमा सीमित भयो । ‘१२ गाउँ’मा जस्तो यो सिनेमामा उनको तारिफ भएन । बरु आलोचना भयो । उनको अभिनयको तारिफ खासै भएन । ‘१२ गाउँ’मा थोरै स्क्रिन टाइम लिए पनि यसमा सिनेमा समीरकै भरमा छोडिएको थियो । तर, सोचेजस्तो भएन ।
त्यसपछि समीर लामो समय कहीँ कतै देखिएनन् । करिब एक महिना अगाडि उनी मुम्बईमा सिनेमाका लागि थप तयारी गरिरहेको खबर आयो । अभिनयका लागि उनले थप मेहनत गरिरहेको खबर सार्वजनिक भयो ।
यसले समीर स्वयंले आफूमा अभिनयमा खारिन केही बाँकी रहेको महसुस गरेको पुष्टि गर्छ । केही सिक्न बाँकी रहेको महसुुस गर्दै उनी अभिनय सिक्न पुनः मुम्बई पुग्नुले प्रस्ट हुन्छ ।
जबकि उनी ‘१२ गाउँ’मा इन्ट्री गर्नुअघि सार्वजनिक हुँदा १० वर्ष मुम्बईमा बसेर सिनेमाका लागि कठोर मेहनत गरेको बताइएको थियो । चलचित्रका लागि परफेक्ट भएर फर्किएको भनेर प्रचार गरिएको थियो ।
तर, उनी पुुनः मुम्बई फर्कनुले समीर सिनेमाका लागि तयार नभइ फर्किएका त थिएनन्, भन्ने आभास दिलाएको छ । उनी अब ‘१२ गाउँ–२’का लागि फर्किंदै छन् । जेठको पहिलो साताबाट छायांकनम जाने ‘१२ गाउँ–२’को हिरो समीर हुन् । यो सिनेमालाई विराज भट्टले निर्देशन गर्दैछन् ।
‘१२ गाउँ–२’का लागि फर्किएर आउँदा उनी अब चाहिँ साँच्चै फरफेक्ट भएर फर्किने छन् अथवा फेरि पनि मुम्बइ जानु पर्ने हो यो भने ‘१२ गाउँ–२’ हेरे पनि नै थाहा हुनेछ ।

