‘पहाड’लाई दर्शकको सकारात्मक प्रतिक्रिया
काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै आजदेखि प्रदर्शन भएको चलचित्र ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
निर्माण टिमले आज काठमाडौं उपत्यका अन्तर्गतका हलमा भिजिट गरेको छ । भिजिटका क्रममा दर्शकले दिएको प्रतिक्रियाले आफूसहित सम्पूर्ण टिम उत्साहित रहेको निर्देशक तुलसी घिमिरेले बताए ।
“दर्शकले हामीलाई दिएको प्रतिक्रियाले निकै उत्साहित भएका छौं । दर्शकले आफ्नै कथा भन्नुभएको छ । मैले जे बुझाउन खोजेको थिए, दशकसम्म त्यो पुगेको छ,” निर्देशक घिमिरेले भने ।
बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यामा आधारित फिल्मले दर्शकको मन जितेको प्रतिक्रिया पाएको अभिनेता विपिन कार्कीले बताए ।
“यो फिल्मलाई दर्शकले दिनुभएको प्रतिक्रियाले अझैँ भीडभाड बढ्छ भन्नेमा विश्वस्त छु । यो फिल्मले नेपाली माटोको कथा बोलेको छ, हाम्रो आफ्नो मौलिक कथा हो । सबैलाई यसले बाँध्छु,” अभिनेता कार्की ले भने ।
चलचित्रले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको अभिनेता अरुण क्षेत्रीले बताए ।
फिल्म ‘पहाड’ मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ ।

