‘पहाड रित्तिँदै छ, चलचित्रले ब्युँझाउँछ’

काठमाडौं । चलचित्र ‘पहाड’को सोमबार बेलुकी राजधानीमा विशेष प्रदर्शनी आयोजना गरियो । सिनेमा हेरेर निस्किएका कलाकार र चलचित्रकर्मीहरूले यसलाई केवल एउटा फिल्म मात्र नभई ‘देशको वर्तमान अवस्थाको ऐना’ को रूपमा टिप्पणी गरेका छन् ।

चलचित्र हेरेपछि सङ्गीतकार शम्भुजित बाँस्कोटाले मग्र देशको अवस्थालाई चित्रण गरेको प्रतिक्रिया दिए । उनले सिनेमाले उठाएको गम्भीर मुद्दाप्रति लक्षित गर्दै भने, ‘आज हाम्रा पहाडहरू रित्तिँदै छन्, हरिया पहाड उजाड बन्दै छन् र गाउँमा युवाको खडेरी छ । यो फिल्मले दिएको सन्देश वास्तवमा राष्ट्रले दिनुपर्ने थियो । यहाँ युवालाई स्वदेश फर्कन र आफ्ना समस्यासँग सामूहिक रूपमा लड्न प्रेरित गरिएको छ । फिल्म निकै राम्रो बनेको छ ।’

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले घिमिरेका अघिल्ला फिल्महरू झैँ ‘पहाड’ पनि सन्देशमूलक र मनोरञ्जनात्मक रहेको बताए । उनले थपे, ‘यो फिल्मले पहाडको कथा मात्र भन्दैन, समग्र नेपालकै चित्र देखाउँछ । स-परिवार बसेर हेर्न मिल्ने यो फिल्मले युवा जनशक्तिलाई आफ्नै माटोमा फर्किन ऊर्जा दिन्छ ।’

झण्डै ९ वर्षको अन्तरालपछि निर्देशनमा फर्किएका निर्देशक घिमिरे दर्शक र शुभचिन्तकको प्रतिक्रियाबाट निकै उत्साहित देखिए । उनले आफ्नो सन्देश दर्शकसम्म पुगेकोमा खुसी व्यक्त गरे । ‘मैले फिल्ममार्फत जे भन्न खोजेको थिएँ, दर्शकले त्यसलाई आफ्नै कथा ठानेर आत्मसात गर्नुभएको छ,’ घिमिरेले भने, ‘दर्शक सन्तुष्ट भएर हलबाट निस्किएको देख्दा मेरो मेहनत सफल भएको महसुस भइरहेको छ ।’

चलचित्रका प्रमुख कलाकार विपिन कार्कीले फिल्मले नेपाली माटोको मौलिक कथा प्रस्तुत गरेको र आगामी दिनमा ‘वर्ड अफ माउथ’ का कारण हलमा दर्शकको भीड अझै बढ्ने विश्वास व्यक्त गरे ।

अर्का अभिनेता रवीन्द्र सिंह बानियाँले तुलसी घिमिरेसँग काम गर्न पाउनुलाई आफ्नो करियरकै अमूल्य उपलब्धिको रूपमा व्याख्या गरे । उनले भने, ‘म उहाँका फिल्म हेर्दै हुर्किएको पुस्ता हुँ । उहाँको योगदान शब्दमा वर्णन गर्न सकिँदैन । उहाँसँग काम गर्ने मेरो इच्छा यो फिल्ममार्फत पूरा भएको छ ।’

चलचित्रले मुख्य गरी तीनवटा समसामयिक मुद्दालाई पर्दामा उतारेको छ । बेरोजगारी, मानवविहीन बन्दै गएका पहाडी गाउँ र खानेपानीको चरम अभाव । युवा जनशक्ति विदेश पलायन हुँदा ग्रामीण क्षेत्रमा परेको सामाजिक र आर्थिक प्रभावलाई फिल्मले मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सुनील थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रेनुनाथ योगी, उमा गिरी र अरुण क्षेत्रीको अभिनय रहेको छ । यही चलचित्रमार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन् ।

चलचित्रका निर्माताहरू सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी हुन् । प्रस्तुतकर्तामा उत्तम रसाइली रहेका छन् ।

प्रमोद प्रधानले छायांकन गरेको चलचित्रमा भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।