दर्शकको कठघरामा तेरिया, नृत्यमा जस्तै अभिनयमा पनि जित्लिन् दर्शकको मन ?

काठमाडौं । गत वर्ष बक्सअफिसमा हिट सिनेमा (घर ज्वाइँ) दिएका निर्देशक अनिल बुढा मगरको चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो चलचित्र रिलिज हुँदा नेपाली सिनेमा उद्योगले केही नयाँपन महसुस गर्नेछ । दर्शकले नयाँ अनुहार हेर्न पाउनेछन् । यही चलचित्रमार्फत नेपाली चलचित्र उद्योगमा तेरिया फौजा मगर भित्रिँदै छिन् ।

तेरिया नेपाली दर्शकका लागि आफैँमा नयाँ नाम होइन, चिरपरिचित नाम हो । कारण उनले इन्डियन डान्स रियालिटी शो मार्फत आफूलाई चम्काउँदा तेरिया नेपाली मात्रै होइन भारतीय दर्शकका लागि परिचित नाम बन्न पुग्यो । नृत्य जगतका लागि पुरानो भए पनि सिनेमाको पर्दामा भने उनी नयाँ हुन् ।

त्यसैले यतिबेला दर्शकको ध्यान तेरियातिर छ । नृत्यमा लाखौँ भारतीयलाई पछि पारेकी तेरियाले अभिनयमा आफ्नो कस्तो कौशल प्रस्तुत गर्नेछिन् भन्नेमा दर्शकमा चासो छ । जसरी तेरियाले नृत्यमार्फत दर्शकको मन जितिन्, त्यस्तै अभिनयमा पनि छाप छोड्नेमा ‘मितज्यू’को निर्माण टिम ढुक्क देखिएको छ ।

यसमा तेरिया ग्रामीण युवतीको भूमिकामा छिन् । प्रायः फिट एन्ड फाइन सहरिया भेषमा जोशिलो नृत्य गर्ने तेरियाले गाउँले युवतीको भूमिका कसरी निभाउँछिन्, उनको अभिनय कस्तो रहला, नृत्यमा जस्तै अभिनयमा पनि उनको पकड रहला अथवा नरहला भन्ने दर्शकमा चासो रहेको छ । टिजरमा भने उनलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

तेरियासँगै यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय छ ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेले खिचेको सिनेमा जेठ ८ गतेबाट प्रदर्शनमा आउँदै छ ।