रिलिज नहुँदै ‘मितज्यू’ ६ वटा देशमा सोल्ड आउट

काठमाडौं । चलचित्र ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ । मंगलबार निर्माण पक्षले यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो ।

फिल्मका निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’को हङकङ प्रदर्शन अधिकार पाथिभरा इन्टरटेनमेन्टले खरिद गरेको छ । त्यस्तै जापानका लागि वाउ इन्टरटेनमेन्ट, साउथ कोरियाका लागि नेपाल मगर संघ, माल्टाका लागि नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डका लागि सोल्टी इभेन्टले अधिकार किनेका छन् ।

उनले अन्य देशहरूसँग पनि प्रदर्शनका लागि छलफल भइरहेको जानकारी दिए । हालसम्म यी ६ देशमा भने प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

सिनेमामा सौगात मल्ल, दयाहाङ राई र अन्तर्राष्ट्रिय रूपमा चर्चित नृत्यांगना तेरिया फौजा मगरको अभिनय रहेको छ । तेरियाको यो डेब्यु फिल्म भएकाले पनि फिल्म सुरुदेखि नै चर्चामा रहँदै आएको छ ।

ग्रामीण परिवेशमा आधारित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगरलगायत कलाकारहरूको अभिनय रहेको छ ।

अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्मका निर्माता जनक घर्ती मगर हुन् । लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन रहेको छ ।

आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ । चलचित्र जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ ।