‘लुट’ र ‘कबड्डी’मा जस्तै सौगात र दयाहाङको जोडी ‘मितज्यू’मा सफल होला ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा दयाहाङ राई र सौगात मल्लको जोडी हिट छ । व्यापारिक रूपमा यो जोडी नेपाली बक्सअफिसमा सफल मानिन्छ ।
‘लुट’बाट सुरु भएको यो जोडीको हालसम्मको हिट सिनेमाको क्लाइमेम्स भने ‘कबड्डी’ हो । यसबाहेक पनि यी दुई कलाकार सँगै नदेखिएका होइनन् । तर, ‘लुट’ र ‘कबड्डी’ जस्तो अरु चलचित्र बक्सअफिसमा सफल देखिएनन् ।
अब यी दुई कलाकार फेरि एकपटक सँगै चलचित्रमा देखिँदै छन् । चलचित्र हो, ‘मितज्यू’ । यो सिनेमामा यी दुई कलाकारको नोकझोक देखिएको छ । पोस्टर र टिजरमा यी दुई कलाकार आमनेसामने हुन्छन् ।
सँगै पनि रहने बस्ने तर मिल्न पनि नसक्ने चरित्रमा उनीहरू देखिन्छन् । यस्तै भूमिकामा यी दुई कलाकार ‘लुट’ र ‘कबड्डी’मा देखिएका थिए । अथवा दर्शकले सौगात र दयाहाङलाई आपसी नोकझोकमा रुचाएको विगत छ । ‘मितज्यू’मा पनि यस्तै रोलमा उनीहरू रहेकाले दर्शकले रुचाउनेमा निर्माण टिम ढुक्क देखिएको छ ।
अनिल बुढा मगरको निर्देशन रहेको ‘मितज्यू’लाई जनक घर्ती मगरले निर्माण गरेका छन् । यो चलचित्रमा सौगात र दयाहाङसँगै तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ । तेरियाको यो डेब्यु सिनेमा हो ।
लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा श्रीकृष्ण बम मल्लको संगीत छ । आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।
चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदैछ ।




