सेयरमा बसेर निर्माताको घाटा कम गराऊ
नेपाली सिनेमा उद्योगमा एउटा तीतो सत्य छ, जतिसुकै चलचित्र घाटामा गए पनि प्रायः सबै नाफामै हुन्छन् । करोडमा बनेको चलचित्रले लाख रुपैयाँ कलेक्सन नगरे पनि प्राय्रः सबै नाफामै हुन्छन् ।
कलाकार, निर्देशक, प्राविधिक, वितरकलगायत सबैलाई प्रत्यक्ष घाटा हुँदैन । डुब्ने भनेको एउटै व्यक्ति हो, निर्माता । अरु सबै पारिश्रमिकमा काम गर्ने भएकाले टाट पल्टिने अथवा लगानी गुमाउने निर्माताले मात्रै हो ।
एक वर्ष लगाएर करोडौं खर्चिएर ५०औँ जनाको मेहनत र पसिनाले बनाएको सिनेमाले ५० लाख पनि कलेक्सन गर्दैन । कति चलचित्रले १० लाख पनि उठाउँदैनन् । करोडौैँ रुपैयाँ डुबाइरहेको निर्माताको सिनेमा लगानी उठ्ने त के कुरा जम्मा हजार रुपैयाँ पनि हलबाट नआउँदा पनि एउटै हिरोले भने ५० लाखसम्म लिइरहेको हुन्छ ।
विपीन कार्की, दयाहाङ राई, प्रदीप खड्का, अनमोल केसी, केदार घिमिरे, समीर भट्टलगायत हिरोले ५० लाखसम्म पारिश्रमिक लिन्छन् ।
जस्तै अनमोलको सिनेमा ‘छड्के २’ ले २७ लाख रुपैयाँ, दयाहाङको ‘मिरमिरे’ले ३३ लाख, ‘भूठान’ले २२ लाख, (यसमा भने हरिवंश आचार्य मुख्य भूमिकामा थिए), दयाहाङको ‘महाभोज’ले ६८ लाख, प्रदीप खड्काको ‘एक्लो’ ४६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेका गरेको थियो ।
सामान्यतया स्टारडमको मान्यता स्टार भएका कलाकारका सिनेमाले इनिसियल व्यापार राम्रो गर्छन् भन्ने हो । तर, स्टारकै कलाकारका सिनेमा रिलिज हुँदा पहिलो दिनको पहिलो शोज नै खाली–खाली हुन्छन् । यसको अर्थ निर्माता घाटामा तर कलाकारको खल्ती भरी भन्ने हो ।
कलाकार, प्राविधिक सबैले पैसा पाइसकेका हुन्छन् । कलाकार र निर्माताको खल्ती भरिसक्छ । निर्माताको भने सडकको बास हुने अवस्था हुन्छ ।
सिनेमाको बिजनेस कस्तो हुन्छ भन्ने कसैलाई थाहा हुँदैन । त्यसैले यो सिनेमाले यति कमाउँछ भन्ने पहिला नै थाहा हुँदैन । हो, यही कारण बलिउड, हलिउडजस्ता ठूलो सिनेमा उद्योगमा निश्चित रकम लिएर स्टार सिनेमाको कमाइको सेयरमा बस्छन् ।
नेपालमा पनि ठूलै बजेटमा सिनेमा बन्न थालिसकेको छ । ५/६ करोडमा सिनेमा बन्न थालिसकेका छन् । जति बिग बजेटको सिनेमा भयो निर्मातालाई त्यति नै रिक्स बढी हुन्छ । त्यसैले अब पारिश्रमिक कलाकार पनि सेयरमा बस्ने हो कि ।
केही निश्चित रकम पारिश्रमिक लिएर ठूलो हिस्सा सेयरमा बस्दा निर्मातालाई रिस्क कम हुन्छ । यस्तो अवस्थामा चलचित्र घाटामा गयो भने पनि निर्माता धेरै घाटामा जाने सम्भाना हुँदैन । त्यसैले एक/दुईवटा सिनेमा घाटामा जाँदैमा निर्माता सिनेमा उद्योगबाट पलायन हुने सम्भावना रहँदैन ।




