च्यासलबाट सुरु भयो ‘१२ गाउँ २’ छायांकन, को-को छन् कलाकार ?
काठमाडौं । एक्सन सिनेमा ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को छायांकन सुरु भएको छ ।
अभिनेता तथा निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको यस चलचित्रको शुभमुहूर्तसँगै छायांकन थालिएको हो ।
बुधबारदेखि गीत छायांकनबाट आरम्भ गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको सुटिङ काठमाडौं, सिन्धुपाल्चोक र चितवनका विभिन्न स्थानहरूमा गरिने बताइएको छ ।
फिल्मको छायांकन सुरु भएसँगै निर्माण टिमले यसको प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ । ‘१२ गाउँ २’ आगामी बडा दशैंको फूलपातीका दिन देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुनेछ । यसअघि पहिलो भागले पनि दशैंमै बम्पर व्यापार गरेको थियो ।
निर्देशक भट्टले यसपटक पनि एक्सन र मनोरञ्जनको स्तरलाई अझ उच्च बनाउने दाबी गरेका छन् ।
चलचित्रमा निर्देशक भट्ट स्वयंका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ ।
चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन् । छायांकनको जिम्मेवारी कुशल सिनेमेटोग्राफर महेश पौडेलले सम्हालेका छन् । यसमा द्वन्द्व निर्देशन सिल्भा र शंकर महर्जनको रहनेछ ।
संगीततर्फ युग भुसाल, देबेन्द्र बराल र डीपी खनालले स्वर भर्नेछन् भने चर्चित गायक सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ । गीतको नृत्य निर्देशन सियोन श्रेष्ठले गरिरहेका छन् ।
फिल्मको निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणब) र रमेश खड्का छन् । वितरणको जिम्मेवारी उपत्यकाभित्र काफिया फिल्म्स प्रालि र उपत्यका बाहिर कुबेर फिल्म्सले लिएका छन् ।




