स्टार भनाउने होइन कहलाउनेतर्फ लागौँ
चलचित्रमा गरिएको लगानी एक हिसाबले जुवा नै हो । नेपालमा मात्रै होइन संसारभर नै यस्तै हो । चलचित्रमा गरिएको लगानी फिर्ता हुने सम्भावना जति हुन्छ, त्यो भन्दा धेरै डुब्ने जोखिम हुन्छ ।
कुन चलचित्र बक्सअफिसमा हिट हुन्छ, कुन हुँदैन भन्ने निश्चित हुँदैन । कहिले ठिकै होला भनेर धेरैले अनुमान गरेको चलचित्र नै ब्लकबस्टर हुन्छ, कहिले ब्लकबस्टर होला भनेर धेरै ढुक्क भएको सिनेमा नै फ्ल्प हुन्छ । त्यसैले सिनेमाको व्यापार यस्तै हुन्छ भनेर संसारभर कसैले पनि पहिला नै पूर्वानुमान गर्न सक्दैन ।
सिनेमामा ठूलो रिस्क हुने भएकै कारण ठूलो रकम तिरेर निर्माताले स्टार कलाकारलाई आफ्नो चलचित्रमा अभिनय गराउँछन् । यसको कारण इनिसियल बिजनेस होस् भनेर नै हो । इनिसियल बिजेनसबाटै लगानीको ठूलो अंश सुरक्षित गर्न सकियोस् भनेर हो ।
इनिसियल बिजनेस राम्रो भएन र चलचित्र पनि सोचेजस्तो भएन भने लगानी डुब्ने जोखिम थप बढ्ने भएकाले स्टारका लागि निर्माता महंगो रकम तिर्छन् ।
स्टारको अर्थ नामकै आधारमा र चलचित्रमा उसको उपस्थितिकै कारण ठूलो संख्यामा दर्शक हलमा जान्छन् भन्ने हो । त्यसैले जो कोही कलाकारलाई स्टार हुने रहर हुन्छ, जुन स्वभाविक पनि हो ।
यही कारण होला नेपाली सिनेमा उद्योगमा आफूलाई स्टार लेखाउन कलाकारलाई सानो हतारो छैन । सुपरस्टार, एक्सन स्टार, एक्सन किङ, नेचुरल स्टार, रियल सुपरस्टार, मेघा स्टार, स्टाइलिस स्टार आदिआदि ।
तर, यी ट्याग जनताले स्वस्फुर्त दिएको पो राम्रो । आफैँले लोभ गरेर जबरजस्ती लेखाएको ट्यागको के अर्थ । आफूले रहर गर्दैमा न स्टार भइन्छ, न स्टार लेखाउँदैमा ५० लाख पारिश्रमिक पाइन्छ, न दर्शक हलसम्म उसलाई हेर्न नै आउँछन् । त्यसैले स्टार रहर गरेर भइदैन, दर्शकले मान्दिनु पर्छ । अथवा दर्शकको मनमा यो स्टार हो भन्ने अनुभूत हुनुपर्छ । र, यो अनुभूत कलाकारले त्यतिबेला गराउन सक्छ, जब उसले दर्शकको मन अभिनयमार्फत जित्छ । त्यसैले रातारात म यो स्टारको पगरी गुत्छु भनेर होइन, मेहनत गरेर आफूलाई प्रमाणित गरेपछि रातरात स्टार पनि भइन्छ, ट्याग पनि पाइन्छ । त्यसैले स्टार भनाउने होइन कहलाउनेतर्फ केन्द्रित बनौँ ।




