उत्रियो ‘राम नाम सत्य’, चार हप्तामा कति कमायो ?
काठमाडौं । नेपाली बक्सअफिसमा आक्रामक सुरुवात गरेको एक्सन जनराको फिल्म ‘राम नाम सत्य’ चार हप्तामा हलबाट उत्रिएको छ । शुक्रबार एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आउँदा हलले यो सिनेमा उतारेका हुन् ।
एकै दिन तीनवटा नयाँ सिनेमाको रिलिज र हलमा रहेका अन्य सिनेमालाई शो उपलब्ध गराउने पर्ने दबाबमा रहेका हलले ‘राम नाम सत्य’लाई उतारेको पाइएको छ । यो चलचित्र अहिले देशभरका कुनै पनि सिनेमा हलमा एक शो पनि छैन ।
३ करोडको आँकडा पार गरेलगत्तै यो चलचित्रको व्यापारमा भारी गिरावट आएको थियो । पछिल्लो दिनहरूमा यो सिनेमाको कलेक्सन निकै निराशाजनक देखिएको थियो ।
गत चैत २७ गतेबाट देशभर प्रदर्शनमा आएको ‘राम नाम सत्य’ले सुरुवाती दिनमा दर्शकको राम्रो साथ पाएको थियो । वैशाख ५ गतेसम्म अर्थात् प्रदर्शनको पहिलो १० दिनमा २ करोड ७८ लाख १८ हजार रूपैयाँको सानदार व्यापार गरेको थियो ।
वैशाख १२ गतेसम्म आइपुग्दा फिल्मको कुल कमाइ ३ करोड ३१ लाख ५८ हजार पुग्यो । तर, वैशाख १२ देखि १९ गतेसम्मको सात दिनमा भने फिल्मले जम्मा ८ लाख १५ हजार रुपैयाँ मात्र थप गर्न सक्यो । वैशाख १९ सम्म फिल्मको कुल कलेक्सन ३ करोड ३९ लाख ७३ हजार रुपैयाँ पुगेको थियो ।
तीन दिन अगाडि यो चलचित्रले नेपालमा ३ करोड ९८ लाख रुपैयाँ कलेक्सन गरेको निर्माण टिमले बताएको थियो । नेपाल बाहिर २ करोड ८५ लाख गरी जम्मा ६ करोड ८३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माण टिमको दाबी थियो ।
माइकल चन्दले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा बिराज भट्ट थिए । चलचित्रमा तीन करोडभन्दा माथि लगानी रहेको थियो ।




