चलचित्र क्षेत्रका यी समस्यामा ध्यान देऊ सरकार
नेपाली चलचित्र सेन्सरमा ठूलो लफडा छ । सानो सोनो कुरामा पनि कैँची चलाउने र बिप राख्नु नेपाली सिनेमाका लागि सामान्य हो ।
तर, अब यो समस्या क्रमशः हट्दै छ । अब कुनै पनि दृश्यमा कैँची लाग्ने छैन । र, बिप राखिने छैन । नेपाली चलचित्र उद्योगमा लामो समयदेखि चलचित्रकर्मीहरूले माग गर्दै आएको विषय हो यो ।
अब सिनेमामा कैँची लाग्ने छैन, बिप प्र्रयोग हुने छैन । तर, ग्रेडिङ हुनेछ । यो वर्षौंदेखि नेपाली चलचित्रकर्मीहरूले माग गर्दै आएका थिए । त्यसैले यसको चलचित्रकर्मीहरूले तारिफ गरिरहेका छन् ।
नाम पनि परिवर्तन भएको छ । सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सरबाट नाम परिवर्तन गरेर सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी राखिएको छ ।
चलचित्रकर्मीहरूका माग थुप्रै छन् । त्यसलाई पूरा गर्ने सरकारको जिम्मेवारी हो । अहिले त गायक नै प्रधानमन्त्री छन् । ठूलो दलका सभापतिको चलचित्रकर्मीहरूसँग बाक्लो उठबस छ । त्यसैले चलचित्रकर्मीहरूका धेरै माग पूरा हुन्छन् भन्नेमा चलचित्र क्षेत्र ढुक्क छ ।
गर्नुपर्ने काम थुप्रै छन् । नेपाली चलचित्रको बजार खोज्नुपर्ने काम छ । नेपालमा मात्रै बजार सीमित छ, त्यो पनि मुख्य सहरबाट सेमी सहरमा समेत सिनेमा पुग्न सकेको छैन । नेपाल बाहिरको बजारमा त पुग्न बाँकी नै छ ।
इन्डिपेन्डेन्ट मेकरलाई सिनेमा निर्माणमा सहयोग गर्न बाँकी छ । मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने थिति बसाल्न बाँकी नै छ । नेपाली कला, संस्कृति बोल्ने सिनेमालाई प्राथमिकतामा राखेर त्यसलाई सहयोग तथा प्रोत्साहन गर्नुपर्नेछ ।
नेपाललाई विश्व सिनेमाको छायांकनको हब बनाउन बाँकी नै छ । चलचित्रकर्मलाई सब्य र भब्य बनाउने वातावरण बनाउन बाँकी छ । चलचित्रकर्मीको बिमा र स्वास्थ्यसँगै आर्थिक सुरक्षाको सुनिश्चितता कसरी हुन्छ, त्यसका लागि अनुकूल वातावरण बनाउन बाँकी छ ।
चलचित्रकर्मीहरू निर्माता ठगिने र डुब्ने क्रम सकेसम्म कसरी हटाउने, बजारलाई कसरी पारदर्शी बनाउनेलगायत धेरै काम गर्न बाँकी छ । यी सबै काम सरकारले पक्कै पनि गर्ने होइन, तर यसका लागि उचित वातावरण भने सरकारले बनाउन सक्छ ।
त्यसैले यी कुरालाई सरकारले नजर अन्दाज गर्नु हुँदैन । सरकार अभिभावक हो, त्यसैले यसका लागि आफैँ गर्नुपर्ने काम गर्ने हो, सहजीकरण गर्ने विषयमा जिम्मेवार बनेर सहजीकरण गर्ने हो ।
राज्यले मालिक बनेर शासन गर्ने होइन जनताको सेवक बनेर सेवा गर्ने हो ।
जनउत्तरदायी सरकारले राज्यका हरेक नागरिक र संस्थाको उत्थान र प्रगतीका लागि सकारात्मक भूमिका खेल्छ । चलचित्र संसारभर नेपाल र नेपाली कलासंस्कृति ब्रान्डिङ गर्ने सबैभन्दा सशक्त र सुुलभ माध्यम हो, त्यसैले यो सुनौलो माध्यमलाई बेवास्था होइन, चासो दिएर सरकार अगाडि बढोस् ।




