‘मितज्यू’ले राम्रो प्रतिक्रिया पाएपछि देश दौडाहामा दयाहाङ
काठमाडौं । दर्शकले चलचित्र ‘मितज्यू’ मन पराएपछि अभिनेता दयाहाङ राईले परिवार, आफन्त र साथीभाइलाई पनि सिनेमा हेर्न भन्न आग्रह गरेका छन् ।
बुधबार नेपालगञ्ज पुगेका दयाहाङले दर्शकसँग यस्तो आग्रह गरेका हुन् । सुरुमा दर्शकलाई सिनेमा कस्तो लाग्यो भनेर सोधेका उनले दर्शकबाट राम्रो लागेको जवाफ दिए ।
त्यसपछि दयाहाङले भने, “त्यसो भए अब परिवार, आफन्त र साथीभाइलाई लिएर सिनेमा हेर्न आउनुस् है त ?” दयाहाङले गरेको यो आग्रहमा दर्शकले हुन्छ भन्दै ताली बजाएर हुटिङ गरेका थिए ।
सँगै रहेकी टेरिया मगरले पनि दर्शकलाई यस्तै आग्रह गरेकी थिइन् । दर्शकले ‘मितज्यू’ मन परेको भन्दै आफन्त र परिवारसँग पुनः सिनेमा हेर्न आउने बताएका थिए ।
दयाहाङ र टेरिया सिने रोयल पुग्दा पञ्चेबाजा बजाएर उनीहरूलाई भब्य स्वागत गरिएको थियो । सिनेमा ‘मितज्यू’ मन पराइरहेका दर्शकबाट वर्ड अफ माउथ राम्रो हुँदा सिनेमा हेर्ने दर्शकको संख्या थपिँदै गएको छ ।
दर्शकबाट राम्रो प्रतिक्रिया पाएका कलाकार काठमाडौंसँगै मोफसलका हलमा पनि दर्शक भेटेर धन्यवाद भन्न हिँडिरहेका छन् । यसैक्रममा दयाहाङ र तेरियासहितको टोली बुधबार नेपालगञ्ज पुगेर दर्शक भेटेको हो ।
यो चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् । सिनेमाले समाजका विभिन्न पाटा केलाएको छ । राजनीतिक, सामाजिक, सांस्कृति र आर्थिक पाटोलाई उठान गरेको छ, जसको दर्शकले खुलेर तारिफ गरिरहेका छन् ।
सिनेमाले राम्रो प्रतिक्रिया पाएपछि दयाहाङ पहिलोपटक सिनेमा प्रदर्शनपछि हल भिजिटका लागि मोफल निस्किएका हुन् ।
बिहीबार विहान यस चलचित्रका मुख्य कलाकार दयाहाङ, टेरिया र निर्देशक अनिल बुढा मगरसहितको टिम नेपालगञ्जबाट दाङ र बुटवलतर्फ लागेको छ । उनीहरूले त्यहाँ रहेका हलमा दर्शकसँगै बसेर सिनेमा हेर्ने निर्माण पक्षको भनाइ छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रमा दयाहाङ र तेरियासँगै, सौगात मल्ल खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मितज्यू’का लगानीकर्ता जनक घर्तीमगर हुन् ।
चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । यस चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गरेको छ ।


