नायिकालाई हेप्न बन्द गरौँ
काठमाडौं । चलचित्र सफल हुन धेरै कुराले भूमिका खेल्छ । निर्माण कम्पनी, पब्लिसिटी डिजाइन, कथा, पटकथा, अभिनय, साउन्ड, ब्याकग्राउन्ड स्कोर, कस्ट्युम, मेकअप, लाइट, लोकेसनलगायत धेरै पक्ष चलचित्रको सफलता र असफलतासँग प्रत्यक्ष जोडिएका हुन्छन् ।
यसबाहेक अप्रत्यक्ष रुपमा सिनेमासँग जोडिने कुरा धेरै छन् । तर, नेपालमा मुख्य रुपमा निर्देशक, लेखक र कलाकारसँग जोडेर सिनेमाको मूल्यांकन हुन्छ ।
यी तीनवटा पक्षमा पनि कलाकारसँग जोडेर सिनेमाको सफलता र असफलता मूल्यांकन हुन्छ । चलचित्र राम्रो भए पनि कलाकारको पोल्टामा त्यसको श्रेय जान्छ, असफल भए पनि दोष उसकै टाउकोमा थुपार्ने चलन छ ।
कुन कलाकारको अभिनय कस्तो छ भनेर होइन, यहाँ कसको सिनेमाले कति कमायो भनेर ऊ सफल कि असफल भन्ने मूल्यांकन हुन्छ । जति धेरै बक्सअफिसमा सिनेमा सफल हुन्छ, त्यति नै ऊ सफल कलाकार मानिन्छ । त्यसैले निर्माताले पनि कसको सिनेमाले कति कमाएको छ भनेर आफ्नो सिनेमामा कलाकार लिने गर्छन् ।
यसैक्रममा महिला कलाकारले अथवा नायिकाले लिड गरेका सिनेमाले पैसा कमाउँदैनन्, अथवा नायिकाले सिनेमा बोक्न सक्दैनन्, नायिकाले लिड गरेको सिनेमालाई दर्शकले विश्वास गर्दैनन् भनेर स्वयं निर्माताले नायिकाप्रधान सिनेमा कमै बनाउँछन् । यसको अर्थ चलचित्र उद्योगमा अझै पितृसत्तामक सोच हावी छ ।
तर, के सत्य यही हो त ? नायिकाले लिड गरेका सिनमा कमजोर नै हुन्छन् ? फिमेल सेन्ट्रिक सिनेमा चल्दैनन् ?
तर, तथ्यले त्यो देखाइरहेको छैन । अहिले दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, विजय बरालका चलचित्रले बक्सअफिसमा निकै कमजोर पफर्मेन्स गरिरहँदा स्वस्तिमा खड्काको सिनेमाले बक्सअफिसमा निकै राम्रो कमाइ गरिरहेको छ ।
विपिन कार्कीको चलचित्र ‘काजी’ले ४० लाख, विजय बरालको चलचित्र ‘मालती मंगले’ले ५१ लाख, सौगात मल्ल र दयाहाङ राईको चलचित्र ‘मितज्यू’ले १ करोड २० लाख रुपैयाँ कलेक्सन गरिरहेका बेला स्वस्तिमाको चलचित्र ‘लालीबजार’ले ७ करोड ९० लाख रुपैयाँ कलेक्सन गरिरहेको छ ।
यसले नायिकाले लिड गरेका सिनेमालाई दर्शकले पत्याउँदैनन् भन्ने सोचलाई गलत सावित गरिदिएको छ । कसले लिड ग¥यो वा गरेनभन्दा पनि दर्शकलाई होल्ड गर्ने सिनेमा बनेको छ कि छैन भन्ने हो । पछिल्ला सिनेमाले पनि यसैलाई पुष्टि गरेका छन् ।
‘लालीबजार’बाट दर्शकले होइन निर्माता÷निर्देशकले चाहिँ नायिकालाई विश्वास नगरेको पुष्टि भएको छ । नायिकाले सिनेमा बोक्न सक्दैनन् भन्ने सोच गलत रहेको पुष्टि भइसकेको छ । त्यसैले नायिकालाई हेप्ने सोच हटाउँ, नायिका सिनेमामा शो पिस मात्रै हुन् भन्ने सोच परित्याग गरौँ ।


