महानगरपालिकाको टोल टोलमा फिल्म महोत्सव प्रभावकारी बनोस्
काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव सुरु गरेको छ । शुक्रबारबाट यो महोत्सब महानगरले सुरु गरेको हो । यो महोत्सब अब असार २६ गतेसम्म हरेक शुक्रबार र शनिबार महानगरका टोलटोलमा हुनेछ ।
सार्वजनिक स्थल, पार्क, डवली, चोकहरूमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम हुनेछन् ।
महानगरले समुदायमा भएका रचनात्मक सिपलाई उद्यम र उद्योगको विकासका लागि काम थालिएको बताएको छ । नियमित रुपमा फिल्म महोत्सव आयोजना गर्ने निफ, किम्फ, मानव अधिकार फिल्म फेस्टिभललगायत कार्यक्रमका आयोजक, चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्था र पेशाकर्मीसँगको सहकार्यमा महोत्सव गरिरहेको छ ।
महानगरपालिकाले आउँदो आर्थिक वर्षमा आयोजना गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्ने गरी टोलटोलमा फिल्म महोत्सवको कार्यक्रम आयोजना गरिएको कार्यवहाक मेयर सुनिता डंगोलले बताएकी छन् ।
महोत्सव असार महिनामा ८ ठाउँमा आयोजना हुनेछ । जुन ठाउँमा कार्यक्रम आयोजना हुने हो, त्यही ठाउँको स्थानीय संस्थालाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
महानगरले नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान दिने महोत्सवको मुख्य उद्देश्य रहेको बताएको छ । यसलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग जोडेर सम्पन्न गरिने बताइएको छ । टोल–टोलमा फिल्म महोत्सवा प्रदर्शन गरिने लघु चलचित्र, चलचित्र प्रदर्शनका लागि एलईडी तथा साउण्ड सिस्टम, क्युरेटरलगायत सहयोग महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले उपलब्ध गराउनेछ । महोत्सवको व्यवस्थापन स्थानीय संस्थाहरुले गर्नेछन् ।
काठमाडौं महानगरपालिकाले २०८० कार्तिक १४ गते युनेस्को क्रियटिभ सिटीज नेटवर्कमा फिल्म विधाबाट सदस्यता प्राप्त गरेपछि रचनात्मक उद्यमसँग जोडेर फिल्मसँग सम्बन्धित काम थालिएको हो ।
भिन्न सहरका भिन्न विशेषतालाई आपसमा परिचित गराउने, समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोणलाई चलायमान बनाउने उद्देश्य रहेको बताइएको छ ।
चलचित्र क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन अन्तर्गत सञ्चालन हुने बताइएको छ ।
यस क्षेत्रबाट प्राचीन संस्कार, संस्कृति, परम्पराजस्ता मौलिकता प्रवर्द्धन तथा स्थानीयबासीको आय वृद्धिमा जोड हुने कार्यक्रम सञ्चालन हुन्छन् । सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने महानगरको विश्वास छ ।
राज्यबाट उपेक्षित रहेको चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्न महानगरको कार्य सह्राहनीय छ । केन्द्रीय सरकारले खासै चासो नदिएको अवस्थामा स्थानीय तहले चासो देखाएर आफैँले महोत्सवमा लगानी गर्नु तारिफयोग्य कदम हो ।
चलचित्र क्षेत्रको विकासका लागि दक्ष जनशक्ति निर्माण, मौलिक कला, संस्कृति, भाषाको संरक्षणयस्ता महोत्सवले गर्ने काम गर्छन् । त्यसैले यस्ता महोत्सव वर्षमा एकपटक होइन, हरेक महिना हुनुपर्छ । काठमाडौैं महानगरपालिकाले मात्रै होइन, देशभरका हरेक स्थानीय तहले गर्नुपर्छ ।
तर, विचारणीय पक्ष के हो भने यस्ता कार्यक्रम गरेर मात्रै हुँदैन । प्रभावकारी पनि हुनुपर्छ । यदि, यस्ता कार्यक्रम प्रभावकारी हुन सकेनन् भने बजेट मात्रै सकिन्छ, तर उपलब्धी हुँदैन । त्यसैले यस्ता कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने यसमा पर्याप्त तयारी गरेर मात्रै गरिनुपर्छ । त्यसैले महानगरले सुरु गरेको यो महोत्सवलाई कसरी प्रभावकारी बनाउन कुनै कसर बाँकी नराखोस् ।
