‘पार्वती’को ‘नौतुना रेलैमा’मा नीता र अञ्जलीको रत्यौली, दीपाश्री बनिन् ‘लुठो’

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशन र मुख्य भूमिका रहेको चलचित्र ‘पार्वती’ को नयाँ गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार चलचित्रमा समावेश ‘नौतुना रेलैमा’ बोलको रमाइलो रत्यौली गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा नेपाली समाजको मौलिक संस्कृति ‘रत्यौली’लाई निकै आकर्षक र जीवन्त ढंगले प्रस्तुत गरिएको छ । विशेष गरी भिडियोमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला पुरुषको भेषभूषामा (जसलाई ग्रामीण भाषामा ‘लुठो’ भनिन्छ) देखिएकी छन् । विवाहको समयमा दुलहा पक्षका पुरुषहरू दुलही लिन गएको बेला घरमा रहेका महिलाहरूले मात्र पुरुष बनेर गरिने ठट्टा र मनोरञ्जनात्मक अभिनयलाई यस गीतले उतारेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यस भिडियोमा अभिनेत्री नीता ढुङ्गाना र दीपाश्री निरौलाका साथै अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, बाल कलाकार अशोक दर्जी र क्रिमसन श्रेष्ठको ऊर्जावान् नृत्य देख्न सकिन्छ । पश्चिम नेपालमा प्रचलित रत्यौली संस्कृति र त्यसमा प्रयोग हुने ठट्टालाई भिडियोमा कलात्मक रुपमा बुनिएको छ ।

यस गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले स्वर दिएका छन् । गीतको शब्द हर्क साउदले लेखेका हुन् भने संगीतकार दीपक शर्माले यसमा संगीत भरेका छन् । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

चलचित्र ‘पार्वती’ अभिनेत्री नीता ढुङ्गानाकै कथा र निर्देशनमा तयार भएको हो । यो उनको निर्देशकीय डेब्यु चलचित्र समेत हो ।

चलचित्रमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।

हरिहर अधिकारी निर्माता र शंकर पाण्डे कार्यकारी निर्माता रहेको यो चलचित्र भदौ १२ गते (रक्षाबन्धनको अवसर) पारेर प्रदर्शनमा आउन लागेको छ ।

यस चलचित्रलाई एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएका छन् ।