बक्स अफिसमा दयनीय ‘आई एम जितबहादुर’, १० दिनमा जम्मा ३१ लाखको व्यापार
काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘आई एम जितबहादुर’ को बक्स अफिस कलेक्सन निकै निराशाजनक देखिएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यो सिनेमाले दर्शकको अपेक्षित साथ पाउन सकेको छैन ।
बोर्डको विवरण अनुसार असार ५ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आएको यस चलचित्रले १० दिनको अवधिमा (असार १४ गतेसम्म) जम्मा ३१ लाख ७ हजार ६९२ रूपैयाँ ग्रस कलेक्सन गरेको छ । सिनेपा बक्स अफिसमा यो अवधिमा देशभरका हलहरुमा ९ हजार ६२६ वटा मात्र टिकट बिक्री भएको विवरणमा उल्लेख छ ।
व्यापारिक रूपमा कमजोर सावित भएसँगै चलचित्रको प्रदर्शनीमा पनि प्रत्यक्ष असर परेको छ । रिलिजको दोस्रो सातामा आइपुग्दा अधिकांश हलहरूले चलचित्रको शो संख्यामा भारी कटौती गरेका छन् । दर्शकको चासो कम भएपछि मल्टीप्लेक्सहरूले ‘आई एम जितबहादुर’ लाई हटाएर अन्य फिल्महरूलाई प्राथमिकता दिएका छन् ।
सुभेन्दु घोषको निर्देशनमा तयार भएको यो चलचित्रमा जितु नेपालका साथै अभिनेत्री वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल लगायतका स्थापित कलाकारहरूको अभिनय रहेको छ ।
नाम चलेका कलाकारहरूको उपस्थिति रहे तापनि फितलो व्यापारले निर्माण पक्षलाई चिन्तित बनाएको छ ।
यस चलचित्रका निर्माता स्वयं जितु नेपाल हुन् । राजन सिम्खडा र दिपेन्द्र अधिकारी सह-निर्माता रहेको यो सिनेमाका कार्यकारी निर्मातामा निश्चल कुँवर र निरज नेपाल छन् ।
यसअघि ‘छक्का पन्जा’ सिरिज र ‘मुन्द्रेको कमेडी क्लब’ बाट चर्चामा रहेका जितु नेपालका लागि यो चलचित्र व्यावसायिक रूपमा एक ठूलो धक्का सावित भएको छ ।

