जितुको चलचित्रको साताभरमा बिक्री भए मात्र ११६ टिकट, कमाइ कति ?
काठमाडौं । हास्य कलाकारको रूपमा लोभलाग्दो उचाइ बनाएका जितु नेपाल (मुन्द्रे) का लागि उनी स्वयं निर्माता र मुख्य अभिनेता रहेको चलचित्र ‘आई एम जितबहादुर’ व्यावसायिक रूपमा ‘डिजास्टर’ सावित भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, यो चलचित्रले बक्स अफिसमा निकै दयनीय प्रदर्शन गरेको हो ।
बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यो सिनेमाले दर्शकको अपेक्षित साथ पाउन नसकेको प्रस्ट देखिएको छ ।
असार ५ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आएको यस चलचित्रले असार १४ गतेसम्म जम्मा ३१ लाख ७ हजार ६९२ रूपैयाँ ग्रस कलेक्सन गरेको थियो । बोर्डको सिनेपा बक्स अफिसमा यो अवधिमा देशभरका हलहरुमा ९ हजार ६२६ वटा मात्र टिकट बिक्री भएको विवरणमा उल्लेख थियो ।
रिलिजको दोस्रो सातामा ‘आई एम जितबहादुर’ले ३१ लाख ३६ हजार ११२ रूपैयाँ ग्रस कमाएको छ । सोमबार सार्वजनिक तथ्यांकअनुसार पछिल्लो आइतबारसम्मको अवधिमा चलचित्रले ९ हजार ७४२ वटा टिकट बिक्री गर्न सफल भएको छ ।
दोस्रो साताको अन्त्यसम्म आइपुग्दा यसको कुल ग्रस कलेक्सन ३१ लाख ३६ हजार ११२ रूपैयाँ पुगेको छ । यो चलचित्रले पछिल्लो साता २८ हजार ४२० रूपैयाँ ग्रस कमाएको छ भने १ सय १६ वटा थप टिकट विक्री भएका छन् ।
सुभेन्दु घोषको निर्देशनमा तयार भएको यो चलचित्रमा जितु नेपालका साथै अभिनेत्री वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल लगायतका स्थापित कलाकारहरूको अभिनय रहेको छ । तर, नाम चलेका कलाकार र चल्तीका अनुहार हुँदैमा चलचित्र चल्दैन भन्ने उदाहरण ‘आई एम जितबहादुर’ बनेको छ । कमजोर पटकथा वा कमजोर प्रचारप्रसारका कारण दर्शकले यो चलचित्रलाई पूर्णतः नकारिदिएका छन् ।
राजन सिम्खडा र दिपेन्द्र अधिकारी सह-निर्माता रहेको यो सिनेमाका कार्यकारी निर्मातामा निश्चल कुँवर र निरज नेपाल छन् ।
यसअघि ‘छक्का पन्जा’ सिरिज र ‘मुन्द्रेको कमेडी क्लब’ बाट चर्चामा रहेका जितु नेपालका लागि यो चलचित्र व्यावसायिक रूपमा एक ठूलो धक्का सावित भएको छ ।

