‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाई बाढी पीडितलाई दिइने

काठमाडौं । चलचित्र ‘पार्वती’को पहिलो दिनको देशभरको कमाई बाढी पीडितलाई दिइने भएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको देशभरको सम्पूर्ण कमाई बाढी पीडितलाई दिइने भएको हो ।

निर्देशक नीता ढुंगानाले चलचित्र भोलिबाट नै रिलिज हुने र पहिलो दिनको सबै कमाई बाढी पीडितका नाममा सहयोग गर्ने जानकारी दिएकी छिन् ।

‘पार्वती’को निर्देशकसँगै मुख्य कलाकार पनि नीता नै हुन् । उनले अटिजम भएकी एक महिला पात्रको भूमिका निर्वाह गरेकी छन् ।

चलचित्रमा दिदी र भाइबीचको आत्मीयता र संघर्षलाई देखाइएको छ । चलचित्रमा नीताको भाइका भूमिकामा अशोक दर्जी छन् ।

चलचित्र ‘पार्वती’मा नीता र अशोकका अलाबा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।