नयाँ तीज गीत लिएर आउँदै विष्णु माझी, भिडियो नआउँदै चर्चामा

काठमाडौं । लोकदोहोरी क्षेत्रकी ‘रहस्यमयी’ तथा चर्चित गायिका हुन्, विष्णु माझी । वर्षमा एकपटक तीजमा तीज गीत मात्रै ल्याउँदै आएकी उनको यो पटक दुई महिना अघि नै गीत आएको थियो ।

उनका गीत भन्न बित्तिकै बजारमा व्यग्र प्रतिक्षा हुन्छ भन्ने थियो । युट्युबमा ऐतिहासिक भ्युज आउँछ भन्ने थियो । भ्युजमा नयाँ रेकर्ड बन्छ भन्ने थियो । तर, दुई महिना अघि रिलिज भएको उक्त गीत त्यति धेरै चलेन । चर्चा पनि भएन ।

वर्षमा एक पटक मात्रै एउटा गीत ल्याउने विष्णुले यो पटक तीज गीत आउँछ कि आउँदैन भन्ने चासो धेरैमा थियो । कारण हो, दुई महिना अघिको गीतमा देखिएको भ्युज र नगन्य चर्चाले कतै विष्णु माझी यो पटक तीजमा गीत नल्याउने त होइनन् भन्ने ।

तर, हरेक वर्षझैँ विष्णु माझीको नयाँ गीतको प्रतीक्षा गरिरहेका हरुकालागि यसवर्षको तीज गीत ‘घरबार’ सार्वजनिक हुने भएको छ ।

गीतको ‘अडियो टपिक’ सार्वजनिक भइसकेको छ भने म्युजिक भिडियो पनि चाँडै सार्वजनिक हुने तयारीमा रहेको बुझिएको छ । अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा गीतबारे चर्चा सुरु भइसकेको छ ।

तीजमा हरेक वर्ष विष्णु माझीका गीतले दर्शक तथा श्रोतामाझ विशेष चर्चा पाउने गरेका छन् । उनका गीतले सामाजिक यथार्थ, महिला जीवन र पारिवारिक सम्बन्धका विविध पक्षलाई समेट्दै आएका छन् ।

यस वर्षको ‘घरबार’ले पनि तीजको सांगीतिक माहोललाई कति प्रभाव पार्छ भन्ने चासो छ । अडियो सार्वजनिक भइसकेकाले अब दर्शकको प्रतीक्षा आधिकारिक भिडियोतर्फ केन्द्रित भएको छ ।