चलचित्र संघ र निर्माता संघ एक ठाउँमा बसेर समस्याको गाँठो फुकाऊ
नेपाली सिनेमा उद्योगमा चलचित्र संघ र निर्माता संघबीच बेलाबेलामा विवाद चलिरहन्छ । बक्स अफिसको सेयर र ट्रेलर र तथा पोस्टरको पब्लिसिटीलाई लिएर चलचित्र संघ र निर्माता संघ आमनेसामने भइरहन्छन् ।
दुई वर्ष अघि दिमाग खराबको समयमा यही विवाद उत्सकर्षमा पुगेको थियो । तर, निर्माता संघले अडान लिँदा चलचित्र संघ पछि हटेको थियो । चलचित्र संघ पछि हट्दा दुई संघबीच समझदारी बनेको थियो ।
सिनेमा प्रदर्शनको पूरै अवधी चलचित्र निर्माता र हलले बराबर ५० प्रतिशत सेयर लिने समझदारी भएको थियो ।
तर, दुई वर्ष नपुग्दै चलचित्र संघ दुई वर्ष अथवा चलचित्र ‘दिमाग खराब’भन्दा अगाडिकै व्यवस्थामा फर्किने एकतर्फी तयारी गरेको यतिबेला चलचित्रवृत्तमा हल्ला छ । चलचित्र संघका व्यक्तिहरू यसबारे खुलेर कुरा गर्दैनन् । तर, भित्रैभित्र पुरानै व्यवस्थामा फर्किने तयारी गरिरहेका छन् ।
सिनेमा घरहरूका सञ्चालकले यस्तो तयारी गरेको कुरा निर्माताहरूबीच भुसको आगो झैँ सल्किएको छ । सिनेमा घरहरूका सञ्चालकले यस्तो तयारी गरेपछि त्यसलाई कसरी रोक्ने भन्ने तयारीमा निर्माताहरूले पनि तयारी गरिरहेका छन् ।
निर्माताहरू एक जुट भएर पुरानै व्यवस्थामा फर्किन नदिनलाई रोक्ने तयारी गरिरहेका छन् ।
पुरानो व्यवस्थामा झर्नु भनेको ५० प्रतिशतको सेयर ३७ प्रतिशतसम्म झर्नु हो । त्यसैले कसरी हुन्छ, यसलाई रोक्ने पक्षमा निर्माता र लागु गरेरै अघि बढ्ने पक्षमा सिनेमा घरका सञ्चालकहरू छन् ।
यसले चलचित्र संघ र निर्माता संघबीच विवाद सृजना गर्ने देखिएको छ । यी दुई संघ आमनेसामने हुँदा यसले सधैँका लागि एउटै क्षेत्रमा रहेर काम गर्नेहरूबीच इगो सिर्जना हुन्छ । जुँगाको लडाईंले स्वस्थ व्यवसायमा असर गर्छ ।
त्यसैले दुई संघ एकआपसमा मुरमुरिएर बस्नु भन्दा पनि खुलस्थ भएर छलफल गर्नुपर्छ । आआफ्ना समस्या के हुन्, राख्नुपर्छ । कसरी अगाडि बढ्न सकिन्छ छलफल गरेर अगाडि बढ्नुपर्छ ।
३७ प्रतिशतसम्म सेयरमा झरेर सिनेमा बनाउन सकिन्न भन्ने निर्माताको भनाइ छ । ५० प्रतिशत सेयर दिँदा हल सञ्चालन गर्न नसकिने भयो भन्ने हल सञ्चालकको भनाइ छ । त्यसैले यो अवस्थामा मन माझेर छलफल गरेर विनविन सिचुएसनमा पुग्नुको दोस्रो विकल्प छैन ।
मनमा कालो राखेर एकअर्काविरुद्ध मुरमुरिएर बस्नुभन्दा कसरी हुन्छ सौहार्दपूर्ण वातावरणमा समस्याको गाँठो फुकाउने भनेर अगाडि बढ्नुपर्छ ।




