‘आ बाट आमा २’को दोस्रो पोस्टरमा चाडपर्वमा घर भरिन्छ कि आमाको पर्खाइ मात्रै बाँकी रहन्छ ?
काठमाडौं । २०८२ सालको दोस्रो धेरै कमाउने बनेको चलचित्र ‘आ बाट आमा’को दोस्रो श्रृंखला ‘आ बाट आमा २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
दशैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सोमबार हरितालिका तीजको अवसर पारेर नयाँ पोस्टर सार्वजनिक गरेका हुन् ।
“चर्किएको यो घरले फेरि सोध्यो, यो दसैँमा पनि तिम्रो सन्तान आएन है आमा??” स्लोगन सहित सार्वजनिक गरिएको यही पोस्टरले सिनेमाले उठाउन खोजेको कथाको मूल भावलाई प्रस्ट पार्छ ।
निर्देशक चन्द्र पन्तले यसअघि सिनेमाको घोषणा गर्दै पहिलो झलक सार्वजनिक गरेका थिए । जसमा चलचित्रका मुख्य पात्र पल शाहको जन्म दिनको अवसर पारेर उनलाई प्रस्तुत गरिएको थियो । सोमबार सार्वजनिक गरिएको कथासहितको पारिवारिक नयाँ पोस्टर ल्याइएको छ ।
सोमबार सार्वजनिक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई समेटिएको छ ।जसको बीचमा आमाको भावुक अनुहार छ । आँखामा आँसु छ, तर वरिपरि भने परिवारका हाँसो, उत्सव, चाडपर्व र पुराना सम्झनाका दृश्यहरू छन् । अर्थात्, एउटै घरभित्र विगतको खुसी र वर्तमानको पीडा कसरी एकसाथ बाँच्छ भन्ने कथा पोस्टरले भन्न खोजेको देखिन्छ ।
पोस्टरको सबैभन्दा अर्थपूर्ण पक्ष भनेको फुटेका सिसा र त्यसमा अडिएका पारिवारिक तस्बिरहरू हुन् । यी तस्बिरले परिवार भत्किनु केवल सम्बन्ध टुट्नु होइन, सँगै बिताएका सम्झनाहरू समेत टुक्रिनु हो भन्ने संकेत गर्छन् ।
एउटा फ्रेममा प्रदीप रावत र विपना थापा एकअर्कालाई अँगालो हालेर भावुक देखिन्छन् । त्यसमाथि आकाशमा उडिरहेको जहाज छ । यो दृश्यले नेपाली परिवारका हजारौँ घरमा रहेको एउटा यथार्थ सम्झाउँछ- रोजगारी र भविष्यको खोजीमा सन्तान विदेशिन्छन्, तर घरमा आमाबुबाको पर्खाइ बाँकी रहन्छ ।
अर्कोतर्फ पल शाह र साइग्रेस पोखरेलका दुई फरक भावका तस्बिर छन् । एउटा तस्बिरमा उनीहरू खुसी छन् भने अर्को दृश्यमा निधारमा टीका र जमरा लगाएका उनीहरू आमाको काखमा छन् । तर आमाको निधारमा न टीका छ, न जमरा । उनको अनुहारमा चाडपर्वको रौनकभन्दा सन्तानसँग छुट्टिनुको पीडा बढी देखिन्छ ।
पोस्टरको अर्को कुनामा भने दशैँको माहोल छ । लिङ्गे पिङ, गाउँघरको रौनक र परिवारसँग रमाइरहेको दृश्यले ‘घरमा सन्तान हुँदा चाडपर्व कति पूर्ण हुन्छ’ भन्ने अनुभूति गराउँछ । तर यही खुसीका दृश्यको बीचमा राखिएका भावुक तस्बिरहरूले एउटा प्रश्न छोड्छन्– जब सन्तान घरमै हुँदैन, त्यही चाडपर्व कस्तो हुन्छ ?
यसरी हेर्दा ‘आ बाट आमा २’को पोस्टरले आमाको भावनालाई मात्र केन्द्रमा राखेको छैन । यसले विदेशिँदो पुस्ता, रित्तिँदै गएको गाउँघर, चाडपर्वमा सन्तानको पर्खाइ, टुट्दै गएको पारिवारिक सम्बन्ध र पुराना सम्झनामा बाँचिरहेका आमाबुबाको कथा संकेत गरेको छ । अर्थात्, पोस्टरको कथा सरल छ– चाडपर्व आउँछ, घरमा टीका र जमरा आउँछ, पिङ लाग्छ, गाउँ रमाउँछ । तर सन्तान नआएपछि एउटी आमाको मनमा भने चाडपर्व होइन, पर्खाइ मात्रै बाँकी रहन्छ ।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, स्व. प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडा लगायतको मुख्य भूमिका छ ।
यस चलचित्रको सम्पादन साहिल खान र मिलन श्रेष्ठ हुन् । चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।
‘आ बाट आमा २’ को कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले तयार पारेका हुन् । यस चलचित्रलाई नेपालभरको वितरण जिम्मा आरआर फिल्म्सले लिएको छ ।
यो पनि पढ्नुहोस्
पल शाहलाई जन्म दिनको उपहार– ‘आ बाट आमा–२’, सिक्वेल निर्माणको घोषणा
पल शाह र चन्द्र पन्तले एकअर्कालाई आफ्नो ‘लक्की चार्म’ स्वीकारेपछि…




