‘आ बाट आमा २’को टिजरले बनायो रेकर्ड, आखिर के देखेर तानिए दर्शक ?
काठमाडौं । नेपाली सिनेमाको प्रचार सामग्रीले छोटो समयमै ठूलो संख्यामा दर्शकको ध्यान खिच्नु नयाँ कुरा होइन । तर पछिल्लो समय सार्वजनिक भएको चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा २’को टिजरले भने भ्युजको मामिलामा उल्लेख्य चर्चा बटुलेको छ ।
गत सोमबार सार्वजनिक भएको यो चलचित्रको टिजर ४८ घण्टा नपुग्दै ३२ लाखभन्दा बढी पटक हेरिएको थियो । अहिले टिजरको भ्युज ३६ लाखभन्दा माथि पुगिसकेको छ ।
नेपाली सिनेमा उद्योगमा रहेका थुप्रै रेकर्ड छन् । त्यसमध्ये युट्युबमा सबैभन्दा धेरै हेरिने टिजरका रुपमा यो चलचित्र बनेको छ । यो अहिलेसम्म टिजरले पाएको सबैभन्दा धेरै भ्युज हो ।
युट्युबमा सबैभन्दा धेरै हेरिने ट्रेलरको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’का नाममा छ । एक वर्षमा यो ट्रेलरले युट्युबमा ७.८ मिलियन अथवा ७८ लाख ३४ हजार ६ सय ६९ भ्युज पाएको छ ।
यता, सर्वाधिक हेरिने टिजर को रेकर्ड बनाएको यो चलचित्र गत वर्ष प्रदर्शन भएको ‘आ बाट आमा’को सिक्वेल हो । चलचित्रको पहिलो भागले नेपालमा १३ करोडमाथिको व्यापार गरेको थियो । सार्वजनिक भएको छोटो समयमै ‘आ बाट आमा २’को टिजरले यति ठूलो संख्यामा भ्युज पाएसँगै दर्शक प्रतिक्रियाका कारण पनि यसको चर्चा सामाजिक सञ्जालदेखि सिनेवृत्तसम्म हुन थालेको छ ।
६ हजार २ सय भन्दा बढी कमेन्ट पाएको टिजरमा आखिर त्यस्तो के छ, जसले दर्शकको ध्यान यति ठूलो संख्यामा खिचिरहेको छ ? ३ मिनेट ३८ सेकेन्ड लामो टिजरमा तीन जना मात्रै अटाएका छन् ।
टिजर हेरेपछि दर्शकले गरेका कमेन्टमा कतै पल र मलिकाको जोडीप्रतिको उत्सुकता देखिन्छ भने कतै आमाको कथाले छोएको भावुकताको प्रतिक्रिया छन् ।
म्युजिक भिडियोमा दर्शकले रुचाएको पल र मलिकाको जोडीलाई ‘पीएम जोडी’का रूपमा चिनिन्छ । यी दुईले सँगै गरेका म्युजिक भिडियोले उनीहरूबीचको केमेस्ट्रीलाई दर्शकमाझ स्थापित गरिसकेको छ । तर म्युजिक भिडियोमा रुचाइएको यो जोडी पहिलोपटक ठूलो पर्दामा एकसाथ देखिँदैछ ।
त्यसैले टिजर सार्वजनिक भएपछि धेरै दर्शकले पल र मलिकालाई ठूलो पर्दामा हेर्न आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । तर टिजरको भ्युजलाई केवल ‘पीएम जोडी’को क्रेजसँग मात्रै जोडेर हेर्न मिल्दैन ।
एकातिर पल–मलिकाको जोडी, अर्कोतिर पल र विपना थापाबीचको आमाछोराको सम्बन्ध । प्रेम र पारिवारिक संवेदनालाई एकैपटक अगाडि ल्याइएको टिजरले फिल्मको कथाबारे दर्शकमा थप जिज्ञासा पैदा गरेको छ ।
टिजरमा पल (कृष्ण)को भूमिकामा छन् । उनी मलिका महतलाई बोकेर हिँडिरहेको दृश्यबाट कथा अगाडि बढ्छ । आमाको औषधि लिन अस्पताल पुगेका कृष्णले मलिकालाई जीवनभर बोकेर हिँड्ने भाव व्यक्त गर्छन् । त्यही क्रममा आमाको फोन आउँदा उनले फोन नउठाउने र घर फर्किएपछि आमालाई सुतिरहेको देखेर डराउने दृश्यले कथालाई भावनात्मक बनाएको छ ।यही दृश्यले दर्शकको एउटा ठूलो समूहलाई भावुक बनाएको देखिन्छ ।
टिजर हेरेपछि केही दर्शकले दसैँमा रमाउने समयमा फिल्मले रुवाउने भयो भन्दै प्रतिक्रिया दिएका छन् । केहीले टिजरले आफ्नै आमाबुबाको सम्झना गराएको बताएका छन् । अझ आमा–बुबा गुमाइसकेका दर्शकले समेत यस्तो कथाले आफूहरूलाई भावुक बनाउने प्रतिक्रिया दिएका छन् ।
त्यसैले अहिले एउटा प्रश्न उठेको छ- टिजरले पाएको यो ठूलो भ्युज पल-मलिकाको क्रेजका कारण आएको हो कि टिजरमा देखाइएको कथा र कलाकारको प्रस्तुतिले पनि दर्शकलाई तानेको हो ?
ठ्याक्कै यही प्रश्नको उत्तर भने फिल्म प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ । किनकि टिजरले दर्शकको प्रारम्भिक चासो त खिचेको छ, तर त्यसलाई हलसम्म लैजान फिल्मको कथा, प्रस्तुति, कलाकारको अभिनय र दर्शकको प्रतिक्रियाले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसमाथि टिजरले छोटो समयमै बनाएको भ्युजको रेकर्डले फिल्मको प्रचारमा थप चर्चा थपेको छ ।
असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा पल, मलिका र विपनाका अलवा आकाश श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्कालगायतको मुख्य भूमिका छ ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘आ बाट आमा २’ को कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार पारेका हुन् ।
चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । ट्रेलर/टिजर साहिल खानले तयार पारेका हुन् ।
नेपालभर यस चलचित्रको वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।




