दयाहाङ राई भन्छन्- स्टारडमले होइन, बलियो कथाले सिनेमा चलाउँछ
काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्रको सफलता कलाकारको स्टारडममा मात्र निर्भर नहुने बताएका छन् । उनले दर्शकलाई हलसम्म तान्ने मुख्य आधार बलियो कथा रहेको बताएका छन् । यही कथाले कलाकारलाई समेत स्टार बनाउने उनको धारणा छ ।
‘फिल्म चलाउन कलाकारको स्टारडम महत्वपूर्ण हुन्छ कि कथा ? भन्ने प्रश्नको जवाफ दिँदै दयाहाङले स्टारडमभन्दा कथा बलियो हुने बताएका छन् ।
‘कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ । कथा बलियो भएपछि फिल्म चल्छ । स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो,’ उनले भने ।
दयाहाङको यो भनाइ पछिल्लो समय प्रदर्शनमा रहेको चलचित्र ‘पेन्सन पट्टा’को सफलतासँग जोडिएर आएको हो ।
कलाकारको लोकप्रियतासँगै फिल्मको कथा, प्रस्तुति र विषयवस्तुले दर्शकलाई हलसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले सुरुआती सातादेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको छ । दोस्रो र तेस्रो सातामा समेत फिल्मले उल्लेख्य शो कायम राखेको थियो ।
चौथो साताको शुक्रबार फिल्मले ९२ शो पाएसँगै यसको प्रदर्शन यात्रा अझै निरन्तर रहने संकेत देखिएको निर्माण पक्षको दाबी छ ।
हालसम्म यो चलचित्रले साढे आठ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।





