टिजरले रेकर्ड बनाएपछि गीत पनि चर्चामा
काठमाडौं । चलचित्र ‘आ बाट आमा २’मा समावेश ‘अचेल किन कान्छी’ बोलको गीतको भिडियोले युट्युबमा छोटो समयमै ६० लाख ८६ हजार भ्युज बटुलेको छ ।
असोज ३० गतेबाट प्रदर्शन हुन लागेको चलचित्रका हरेक प्रचार सामग्रीलाई दर्शकले रुचाइरहँदा यो गीतले पनि लोभलाग्दो भ्यूज पाएको हो ।
यसअघि टिजरले युट्युबमा रेकर्ड नै बनाइसकेको छ । दुई सातामा टिजरलाई ५२ लाखभन्दा बढीले हेरिसकेका छन् । नेपाली चलचित्रको टिजरले पाएको यो अहिलेसम्मकै सर्वाधिक भ्यूज हो ।
यता, टिजर र गीत सार्वजनिक भएसँगै अभिनेता पल शाह र अभिनेत्री मलिका महतको जोडीलाई दर्शकले रुचाएका छन् ।
एक साताअघि सार्वजनिक गरिएको गीतको भिडियो रिलिज भएको सातौँ दिनमै युट्युबको ट्रेन्डिङ नम्बर वानमा समेत पुग्न सफल भएको थियो । गीतको भ्युज मात्र होइन, कमेन्टमा पनि पल र मलिकाको जोडीप्रति दर्शकको उत्साह देखिन्छ । धेरै दर्शकले उनीहरूलाई नेपाली फिल्म क्षेत्रको ‘राजा–रानी’ जोडी भन्दै प्रशंसा गरेका छन् । कतिपयले यही जोडीलाई लिएर आगामी दिनमा अझ धेरै फिल्म निर्माण गर्न निर्माता–निर्देशकलाई आग्रहसमेत गरेका छन् ।
कमेन्ट गर्ने दर्शकमध्ये प्रेमकुमारले लेखेका छन्, ‘नेपाली फिल्म इन्डस्ट्रीका राजा–रानी पल र मलिका साँच्चिकै भन्नुपर्दा एकदमै परफेक्ट जोडी हुन् । नेपाली फिल्म क्षेत्रका लागि यो जोडी निकै राम्रो र भाग्यमानी जोडी बन्न सक्छ । निर्देशक तथा निर्माता ज्युहरूको पनि ध्यान यो जोडीमाथि जाओस् । आउँदा दिनमा पल र मलिकाको जोडीलाई लिएर अझ धेरै राम्रा, स्तरीय र दर्शकको मन छुने फिल्महरू हेर्न पाइयोस् ।’
गीतमा पल र मलिकाको केमेस्ट्रीसँगै उनीहरूको नृत्यले पनि दर्शकको ध्यान तानेको छ । सामूहिक विवाहको परिवेशमा तयार पारिएको गीतमा पल र मलिकाको रोमान्टिक जोडी देखिन्छ भने अभिनेता आकाश श्रेष्ठ भने उनीहरूको प्रेमकथामा खलनायकका रूपमा प्रस्तुत भएका छन् ।
आकाश किन पल र मलिकाको सम्बन्धमा बाधक बनेका छन् भन्ने प्रश्नको जवाफ भने फिल्म प्रदर्शनपछि मात्र खुल्नेछ। यही कारण गीतले फिल्मको कथाप्रति समेत दर्शकको कौतुहल बढाएको निर्माण पक्षको बुझाइ छ ।
निर्देशक चन्द्र पन्तका अनुसार पल शाह र मलिका महतको जोडीलाई फिल्ममा लिनुको प्रमुख कारण नै दर्शकको माग हो । दर्शकले रुचाएको जोडीलाई पर्दामा सँगै हेर्न चाहेको प्रतिक्रिया पाएपछि सोहीअनुसार कथा तयार पारिएको उनले बताए ।
‘दर्शकको मागअनुसार नै हामीले फिल्मको कथा लेखेका हौँ। सोही जोडीलाई फिल्ममा राख्दा दर्शक खुसी हुनुभएको हो,’ निर्देशक पन्तले भने।
‘अचेल किन कान्छी’ फिल्मको अहिलेसम्मकै सबैभन्दा चर्चामा आएको गीत बनेको छ। सार्वजनिक भएको एक सातामै ६० लाखभन्दा बढी भ्युज पुगिसकेको गीतले अब छिट्टै एक करोड भ्युजको आँकडा पार गर्ने संकेत देखाएको छ।
गीतमा पल शाह, मलिका महत र आकाश श्रेष्ठलाई देख्न सकिन्छ । रमाइलो र नृत्यप्रधान गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका हुन् । गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। कोरसमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालको स्वर सुन्न सकिन्छ।
पल शाह र मलिका महतको ‘आ बाट आमा २’ उनीहरूको पहिलो फिल्मी सहकार्य हो । पहिलो सहकार्यको गीतमै दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित बनेको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारको अभिनय छ ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ । करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ हुन् । नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो भने आरआर फिल्म्सले नेपालभर फिल्म वितरण गर्ने जिम्मेवारी लिएको छ ।





