अन्तिम समयमा पल शाह निकालिएको सिनेमा ‘कल्ली’ कता हरायो ?

काठमाडौं । पटकपटक प्रदर्शन स्थगित हुँदै आएको चलचित्र ‘कल्ली’ अहिले गुमनाम छ । न त यसको अहिले रिलिज डेटको कुरा आएको छ, न त प्रचार सामग्री नै आएका छन् ।

रिलिज मिति नै लिइसकेको चलचित्र किन यतिबेला गुपचुप बसिरहेको छ, यो आफैँमा अनौठो पक्ष हो ।

यसको टिजरमा मानिसभित्र रहने देवता र राक्षसको कथा देखिएको थियो । ‘कल्ली’ले भगवान् र राक्षसको कथा प्रस्तुत गर्ने बताइएको थियो ।

मानिसको मनमा हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ । राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ । मानिसले आफ्नो मनभित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितिको कथालाई यो फिल्मले प्रस्तुत गर्ने निर्माणपक्षले बताएको थियो ।

तर, यतिबेला निर्माणपक्ष यो सिनेमाबारे केही बोलिरहेको छैन । फागुन १ गतेलाई रिलिज डेट लिएको चलचित्रको निर्माण पक्षले त्यस समयमा निर्वाचनको कारण देखाउँदै पछि सरेको थियो । तर, ‘कल्ली’को नयाँ प्रदर्शन मिति घोषणा हुन सकेको छैन ।

यो चलचित्रमा सुरुमा पल शाह अनुबन्ध भएका थिए । पललाई राखेर पोस्टर पनि आउट भएको थियो । तर, जब पलको सिनेमाले बजारबाट पैसा उठाउन छोडे त्यसपछि यो सिनेमाबाट पल निकालिएको त्यो समय समाचारहरू बाहिर आएका थिए । तर, यो सिनेमाबाट पल बाहिरिएलगत्तै उनका रिलिज भएका सिनेमा ‘मोहर’ र ‘आ बाट आमा २’ले बजारबाट राम्रो कमाइ गरेका थिए ।

किरण नेपालीको निर्माणमा तयार भएको चलचित्र ‘कल्ली’ लाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि सुनारकै छ । कथा लेखन भने महेश दवाडीको छ ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, परीक्षा लिम्बु, अर्जुन गुरुङलगायत लाकारको अभिनय छ ।

निसाल पौडेलको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ ।

आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनबी महर्जनको एक्सन छ । सुरज आचार्य फिल्मका निर्माण प्रमुख हुन् ।