दयाहाङका दुईवटा चलचित्र लगातार सुपरहिट
काठमाडौं । अभिनेता दयाहाङ राईका दुईवटा सिनेमा लगातार सुपरहिट भएका छन् । शुक्रबारबाट प्रदर्शन सुरु भएको चलचित्र ‘कबड्डी ५’ र भदौमा रिलिज भएको ‘पेन्सन पट्टा’ सुपरहिट भएका हुन् ।
देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले यी दुई चलचित्रलाई सुपरहिट घोषणा गरेको हो ।
यी दुईवटै सिनेमा लगातार सुपरहिट भएका हुन् । ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ अहिले हलमा प्रदशर्न भइरहेका छन् । ‘कबड्डी ५’ले कति कलेक्सन गर्यो निर्माणपक्षले घोषणा गर्न बाँकी छ ।
‘पेन्सन पट्टा’ले भने १० करोड रुपैयाँ कलेक्सन गरिसकेको छ । छोटो समयमा धेरै कलेक्सन गर्नु र आफ्नो आउटलेटमा पाएको शोमा उच्च अकुपेन्सी हुनु तथा निश्चित कलेक्सन गरिसकेपछि क्युएफएक्सले सिनेमालाई सुपरहिट घोषणा गर्ने गरेको छ ।
‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ दुवैमा दयाहाङ मुख्य भूमिकामा छन् ।
‘कबड्डी ५’मा दयाहाङसँगै विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक रामबाकु गुरुङ हुन् । गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङको लगानी छ ।
सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।
‘पेन्सन पट्टा’लाई माओत्से गुरुङले निर्देशन गरेका छन् । लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ ।
चलचित्रमा दयाहाङसँगै गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधर लगायत कलाकारको अभिनय छ ।

