कलाकारमाथि राजनीतिक फ्रस्टेसन नपोख

कलाकार देशका गहना हुन् । यसको अर्थ कलाकार देशका इज्जत हुन्, शान र गौरव हुन् । कलाकार गहना हुन्, भने व्यवाहार पनि त्यही अनुसारको हुनुपर्छ । राज्य र नागरिकले पनि कलाकारको इज्जत गर्नुपर्छ ।
तर, त्यस्तो भइरहेको छैन । लगातार कलाकारहरू गालीको सिकार भइरहेका छन् । विभिन्न वाहानामा कलाकारले गाली खाइरहेका छैन् ।
धेरै पहिला नजाऔँ, केही समयअगाडिको मात्रै कुरा गरौँ । प्रकाश सपूतले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेको भन्दै उनले गाली खाए । सामाजिक सञ्जालमा उनलाई जातीय कुरा निकालेर अपमानित तारिकाले गाली गरियो ।
प्रकाशको चलचित्र ‘वसन्त’ रिलिज हुन लागेको समय थियो । उनको सिनेमा बहिष्कार गर्नेसम्मको धम्की पाए उनले । उनको चलचित्र हाइप बनाए अनुसार नचल्नुमा एउटा कारण प्रकाश ओलीको समर्थनमा बोल्नु रहेको पनि धेरैले अड्कल गरे । तर, ‘वसन्त’ले राम्रो समीक्षा नपाएको भने सत्य हो ।
प्रकाशले किन गाली खाए ? वास्तवमा उनले गाली खानुको कारण उनले गरेको प्रशंसाभन्दा पनि ओलीप्रतिको वितृष्णा हो । राजनीतिक दलप्रति फ्रस्डेड रहेका तप्काले गाली गरेको हो । नेताले देश विगारे भन्नेहरूले गरेको गाली हो ।
केही दिनदेखि अभिनेत्री सुरक्षा पन्तले गाली खाइरहेकी छन् । पूर्व युवराज पारश शाहका छोरा हृदयन्द्रलाई चलचित्र उद्योगमा स्वागत छ, रुचि छ भने हिरो हुन आउनुस् भनेकै भरमा सुरक्षाले गाली खानु परिरहेको छ ।
जबकी उनले यदि रुचि छ भने आउनुस्, राम्रो हुनुहुन्छ भनेकी छन् । प्रष्ट शब्दमा उनले इच्छा भएमा मात्रै भनेर भनिरहेकी छन् तर पनि उनले गाली खाइरहेकी छन् ।
अनेक आरोप लगाएर निम्नस्तरमा ओर्लिएर गाली गरिरहेका छन् । नबुझेर गाली गरेका हुन् भने प्रष्ट शब्दमा सुरक्षाले भनेकी छन्, रुचि भए आउनुस् भनेर अनि किन उनलाई गाली गर्नुपर्यो ?
उनलाई लगाइएको आरोप छ, पूर्व राजपरिवारका सदस्यलाई अमर्यादित तरिकाले टिप्पणी गरेको । यो आरोप आफैँमा पूर्वाग्रही छ ।
राजतन्त्र नफर्किएको अथवा फर्काउन नसकेको अथवा दलहरूले राजतन्त्र नस्वीकारेको तीतो सुरक्षामाथि राजतन्त्र पक्षधरहरूले पोखिरहेका छन् । कुनै व्यवस्था आउँछ वा जान्छ, राख्ने अथवा नराख्ने, जित्ने अथवा हार्नेमा सबैभन्दा बढी भूमिका राजनीतिक दलको हुन्छ । तर, त्यसको फ्रस्टेसन कलाकारमाथि पोख्ने काम भइरहेको छ ।
‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ भने जस्तै काम देशको तालाचावी बोक्नेले बिगारिरहेका छन् । तर, गाली कलाकारले पाइरहेका छन् ।
कोही नेता, पार्टी वा व्यवस्थाबारे थोरै बोल्दा रोष कलाकार माथि पोख्ने काम भइरहेको छ । सत्य के हो, यथार्थ के हो त्यसको गहिराई पत्ता लगाएर मात्रै बोल्ने वा धारणा राख्ने गरौँ । अनाहकमा कसैमाथि गाली नगरौँ, सभ्य र सुसंस्कृत नागरिकको परिचय दिऔँ ।