सबैका प्रिय अभिनेता, सबैले खोज्ने र दोहोर्याउने कलाकार दयाहाङ

काठमाडौं । नेपाली चलचित्र उद्योगमा दयाहाङ राई रोजाईको कलाकार हुन् । नयाँ हुन् वा पुराना निर्देशक अथवा नयाँ ब्यानर हुन् वा पुराना सबैको रोजाइमा पर्छन् ।
रेगुलर रुपमा चलचित्र बनाइरहने निर्देशक तथा निर्माताको रोजाइमा पनि दयाहाङ नै पर्छन् । डेब्यु निर्देशक र निर्माताको खोजीमा पनि दयाहाङ नै हुन्छन् । त्यसैले उनलाई सुटिङमा भ्याइनभ्याइ हुन्छ । एकै दिन उनका दुईवटा सम्म सिनेमा रिलिज हुन्छन् ।
उनका सिनेमाको संख्या, रिलिज, उनलाई आफ्नो सिनेमामा काम गराउन खोज्ने निर्देशक र निर्माता तथा दोहोर्याएर काम गर्ने स्थापित निर्देशक र निर्माताको संख्या हेर्दा दयाहाङलाई सबैका प्रिय अभिनेता भन्न सकिन्छ ।
स्थापित निर्देशक र ब्यानरमा उनी दोहोरिरहेका दृश्टान्तले यसलाई पुष्टि गर्छ ।
रामबाबु गुरुङका चलचित्रमा प्रायः दयाहाङ राई हुन्छन् नै । ‘कबड्डी’का सबै सिरिजमा दयाहाङ छन् ।
रामबाबुका ‘डिग्री माइला’, ‘पुरानो डुंगा’, ‘मिस्टर झोले’, ‘अनागरिक’लगायत चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा नै छन् । ‘सेन्टी भाइरस’मा पनि उनलाई रामबाबुले अटाएका छन् ।
उपेन्द्र सुब्बाका चलचित्र दयाहाङ राई लगातार अटाइरहेका छन् । उनले अहिलेसम्म निर्देशन गरेका दुईवटा चलचित्रमा दुइटैमा दयाहाङ छन् । ‘जारी’ र ‘मनसरा’मा दयाहाङ राई छन् ।
उपेन्द्रले निर्देशनको तयारी गरिरहेको चलचित्र ‘जारी–२’मा पनि दयाहाङ नै मुख्य भूमिकामा छन् ।
दीपेन्द्र लामाका चलचित्रमा दयाहाङ राई छुट्दैन् । दीपेन्द्रको अधिकांश चलचित्रमा दयाहाङ छन् ।
दीपेन्द्रको ‘घामपानी’, ‘नाङ्गो गाउँ’, ‘दुई नम्बरी’ र ‘दुखी आत्मा’मा दयाहाङ राई मुख्य भूमिकामा छन् । उनको चलचित्र ‘गोपी’मा मात्रै हो दयाहाङले काम नगरेको ।
दीपक रौनियारका चलचित्रमा दयाहाङ राई छुट्दैनन् । दीपकका फिचर फिल्मदेखि सर्ट फिल्मसम्ममा दयाहाङ हुन्छन् ।
दीपकले हालसम्म तीनवटा फिचर फिल्म ‘हाइवे’, ‘ह्वाइट सन्’ र ‘राजागञ्ज’ निर्देशन गरेका छन् । यी तीनवटै सिनेमामा दयाहाङ छन् । उनको सर्ट फिल्ममा पनि दयाहाङ छन् ।
यस्तै डेब्यु निर्देशकका चलचित्रमा पनि दयाहाङले बाक्लो संख्यामा काम गर्छन् । गत वर्ष मात्रै पनि उनले ठूलो संख्यामा डेब्यु निर्देशकका सिनेमामा काम गरेका छन् ।