वर्ड अफ माउथको भ्रम छर्न जबरजस्ती प्रतिक्रिया लिन बन्द गर

चलचित्र पब्लिसिटीको सबैभन्दा बलियो टुल्स वर्ड अफ माउथ हो । अथवा दर्शकले हलमा पुगेर चलचित्र हेरेर आफ्ना आफन्त, साथीभाइ तथा छरछिमेकीलाई राम्रो लागेको छ भने हेर्न जान गर्ने सिफारिस वा सुझाव ।

यदि, चलचित्र राम्रो लाग्यो भने उनीहरूले स्वतस्फूर्त रूपमा सिनेमा हेर्नका लागि सिफारिस गरे भने त्यो दिन दुई गुणा रात चार गुणा मल्टिप्लाई हुँदै जान्छ । र, सिनेमा हेर्न हलमा दर्शकको भीड लाग्छ । सबैभन्दा सशक्त फिल्म पब्लिसिटीको माध्यम पनि यही नै हो ।

तर, यसको पनि विस्तारै भरोसा गुम्दै जान थालेको छ । हलमा पुग्ने दर्शकले दिएको प्रतिक्रिया निष्पक्ष र स्वतन्त्र हुन्छ भनेर आम दर्शकले भरोसा गर्छन् भनेर अहिले चलचित्रका निर्देशक, निर्माता र वितरक हलहलमा पुगेर आम दर्शकलाई सिनेमा कस्तो लाग्यो भनेर बुम तेर्स्याउँछन् । यसो गर्नेमा युट्युब च्यानल पनि अग्रपंक्तिमा छन् ।

सिनेमा हल परिसर अथवा फुडकोर्टसम्म त ठिकै हो तर हलभित्रै पुगेर यस्तो प्रतिक्रिया जबरजस्ती लिने चलन बढेको छ । एक त यो व्यक्तिको गोपनीयताको हनन् हो भने अर्को जवरजस्ती बोल्न लगाउनु आफैँमा अशोभनीय छ । हलमा त्यसरी बोलेको कुरा सार्वजनिक प्लेटफर्ममा राख्न हुन्छ कि हुँदैन भन्ने अर्को विचारणीय पक्ष हो । यदि, कसैले मेरो गोपनीयता भंग भयो भनेर मुद्दा हालिदियो भने के हुन्छ ?

चलचित्रको सिंगो टिम जस्तै : निर्देशक, निर्माता, लेखक, कलाकार, वितरक अगाडि बसेर तपाईंलाई सिनेमा कस्तो लाग्यो भनेर प्रश्न गर्दा कसैलाई नराम्रो लागे पनि राम्रो लागेन भन्न हिचकिचाहट हुन्छ, जुन स्वभाविक पनि हो । त्यसैले यस्तो अवस्थामा दर्शकले चलचित्र नराम्रो नै लागे पनि राम्रो लाग्यो नै भन्छन् ।

अहिले ठिक यस्तै भइरहेको छ । कलाकारसहित जम्बो टिम हलहलमा जाने, आफू अगाडि बसेर सिनेमा कस्तो छ भनेर सोध्ने, अझ सकेसम्म कलाकारले नै सोध्ने अनि दर्शकले जबरजस्ती राम्रो भन्छन् । अनि त्यही फुटेज ल्याएर सम्भव भए सञ्चारमाध्यमबाटै त्यही प्रशारण तथा प्रकाशन गर्ने । नभए सामाजिक सञ्जालमा त्यस्ता भिडियो पोस्ट गर्ने, बुस्ट गर्ने, सकेसम्म भाइरल नै बनाउने चलन मौलाएको छ ।

तर, दर्शकले यो गुह्य कुरा पनि बुझिसकेका छन् । जबरजस्ती लिएको प्रतिक्रिया हो भन्ने थाहा पाइसकेका छन् । त्यसैले यसको पनि विश्वास गर्न दर्शकले छोडिसकेका छन् । जसरी निर्माताले आफैँले टिकट काटेर हल भरिरहेका छन् भन्ने तथ्य उदांगो भइसकेको छ ।

अब आम दर्शक जो निर्माता, निर्देशक र कलाकारलाई चिन्दैन उसले सामाजिक सञ्जालमा गरेको स्वतन्त्र पोस्टबाहेक कसैले विश्वास गर्ने अवस्था छैन ।

त्यसैले अब हलहल पुगेर जबरजस्ती राम्रो भन्ने वातावरण सिर्जना गरेर लिएको प्रतिक्रियाले पनि काम गर्ने छैन । त्यसैले अब चलचित्र चल्न स्वयं सिनेमा नै राम्रो हुनुपर्छ भन्ने तथ्यलाई आत्मसाथ गर्नुको विकल्प छैन ।