‘जिरो डिग्री’को गीत ‘अरे हो नेता जी’ सार्वजनिक, विजयले गरे प्रश्न

काठमाडौं । छायांकनमा निस्कन लागेको चलचित्र ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत सार्वजनिक गरिएको छ । समसामयिक राजनीति र नेताहरूप्रति व्यङ्ग्य प्रहार गरिएको ‘अरे हो नेता जी’ बोलको गीत मंगलबार ‘मुभिज् डिजिटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा अभिनेता विजय बराल र गायक अंकित बाबु अधिकारीको स्वर रहेको छ । गीतमा संगीत पनि अधिकारीकै रहेको छ भने शब्द युवराज काफ्लेले लेखेका हुन् ।

गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रस्तुत गरिएको छ । गीतमा आम नागरिकले विकास निर्माणबारे प्रश्न गर्दा नेताले दिने टालटुले जवाफ र ‘यही हो विकास’ भन्दै देखाउने प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा चित्रण गरिएको छ ।

‘जिरो डिग्री’को कथा र तयारी मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को कथावस्तु मौलिक रहेको छ ।

सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने उथलपुथलपूर्ण घटनाहरू र ‘डार्क कमेडी’मा चलचित्र आधारित छ ।

निर्देशकका अनुसार यो चलचित्र फ्रिज गाउँ पुर्याउने कथामा मात्र सीमित नभई समाजका गहिरा यथार्थहरू उजागर गर्ने प्रयास हो ।

चलचित्रको निर्देशन एवं पटकथा तथा संवाद आकास बराल र साजन काफ्लेले गर्दैछन् । यस चलचित्रका कथाकार राजन भुसालले यस चलचित्रमा अभिनय समेत गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता मोती कार्की रहेका छन् ।

निशाल पौडेलले छायांकन गर्ने यस चलचित्रको सम्पादन चानस मगर र कला निर्देशन रिक वेदले सम्हाल्नेछन् ।