‘जिरो डिग्री’ले फेर्यो प्रदर्शन मिति
काठमाडौं । चलचित्र ‘जिरो डिग्री’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र अब २०८३ साल माघ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
चलचित्रको प्रदर्शन मिति परिवर्तन हुन सक्ने चर्चा यसअघि नै चलेको थियो । तिहारमा अन्य चलचित्रसँग प्रदर्शन जुध्ने सम्भावनाका कारण ‘जिरो डिग्री’को मिति सार्न लागिएको अड्कलबाजीसमेत भएको थियो । त्यतिबेला निर्माण पक्षले भने यस्ता चर्चाको खण्डन गर्दै चलचित्रको प्रदर्शन मिति योजनाअनुसार नै तय गरिएको स्पष्ट पारेको थियो ।
निर्देशक आकाश बरालले चलचित्रको प्रदर्शन मिति कुनै आवेग वा प्रतिस्पर्धालाई हेरेर नभई व्यावसायिक योजनाका आधारमा तय गरिएको बताएका थिए । छायांकन सकिएपछि प्रारम्भिक सम्पादन हेरेर आफूहरू विश्वस्त भएपछि मात्रै तिहारलाई प्रदर्शनका लागि रोजिएको उनको भनाइ थियो ।
तर, निर्माण पक्षले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन भएको औपचारिक जानकारी दिएको हो । नयाँ पोस्टरमा अभिनेता विजय बराललाई चलचित्रका प्रमुख पात्र ‘पुन्य चौलागाईं’को फरक अवतारमा प्रस्तुत गरिएको छ । ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि र पछाडि दुईवटा पंखा बोकेर हिँडिरहेको दृश्य पोस्टरमा देखिन्छ ।
‘मेघौली फिल्म्स’को ब्यानरमा निर्माण भएको चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँको परिवेशमा आधारित छ । आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किएसम्म शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिने परिस्थितिबाट उत्पन्न हुने विभिन्न उथलपुथलपूर्ण र हास्यप्रधान घटनालाई चलचित्रले प्रस्तुत गर्नेछ ।
यसअघि निर्माण पक्षले गाउँलेहरूले पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेर हिँडिरहेको दृश्य समेटिएको पोस्टर पनि सार्वजनिक गरेको थियो । नयाँ पोस्टरसँगै चलचित्रको कथा र पात्रलाई लिएर दर्शकमा थप जिज्ञासा सिर्जना भएको छ ।
चलचित्रको कथा तथा पटकथा सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा तयार पारेका हुन् । निर्देशन पनि काफ्ले र बरालले नै गरेका छन् । हिट चलचित्र ‘बेहुली फ्रम मेघौली’पछि यो जोडीले संयुक्त रूपमा निर्माण गरेको दोस्रो चलचित्र हो ।
चलचित्रमा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री र शारदा सिलवाललगायतका कलाकारको अभिनय छ ।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन निशाल पौडेलले गरेका हुन् । चानस पुन मगर सम्पादक, राजेन्द्र मोक्तान रङ्ग संयोजक तथा अङ्कित बाबु अधिकारी संगीतकार छन् । चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् ।
चलचित्रलाई काठमाडौं उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछ ।




